श्रीमान्‌को खबर नपाउँदा पीडामा कुमाल

५ बर्ष अगाडि

सात महीनादेखि श्रीमान् बेपत्ता भएपछि चापाकोट नगरपालिका–८ स्याङ्जा बस्ने चम्पा कुमाल पीडामा जीवन जिउँदै छन् । 

उनका ५३ वर्षीय श्रीमान् प्रेमबहादुर गएको भदौदेखि सम्पर्कविहीन छन् । गाउँका युवालाई भर्ती गराउन भारत लैजाने भन्दै घरबाट निस्केका प्रेमबहादुर अहिलेसम्म परिवारको सम्पर्कमा नआएको श्रीमती चम्पाले बताए। “आफन्त, साथीभाइ धेरै ठाउँमा खोजीकार्य गरे पनि अहिलेसम्म अत्तोपत्तो लाग्न सकेको छैन, भर्ती हुन भनेर सँगै गएका गाउँका सबै युवा घर फर्किए तर श्रीमान्को केही खबर पाउन सकिएन”, चम्पाले भने । 

श्रीमान् बेखबर बनेको पीडाले कुमाललाई न दिनमा भोक न रातमा निद्राजस्तै भएको छ । “सँगै गएका युवा भैरहवाबाट आफ्नै कामकाजमा फर्किएको र प्रेमबहादुर आफ्नो अन्यत्र काम देखाएर निस्किएको खबर ती युवाबाट थाहा पाइयो तर अहिलेसम्म फोन सम्पर्क केही छैन”, उनको भनाइ छ । 

चम्पाले श्रीमान्को खोजीकार्यमा दुःखसँग बाख्रा, कुखुरा पालेर कमाएको केही रकम खर्च गरे । तर अहिलेसम्म श्रीमान्को पत्तो लाग्न नसकेको उनले बताइन । “तीन छोरा छन्, श्रीमती लिएर म सँग छुट्टिएर बसेका छन्, म एक्लै पीडामा घरको पिँढीमा बसेर श्रीमान् आउने आशामा बसिरहेको छु”, कुमालले बिलौना गरे ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया