१२० महिलाको परिवारबाटै हत्या

५ बर्ष अगाडि

काठमाडौं - महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लंघन र दुर्व्यवहारका घटना धेरै हुने गरेको पाइएको छ। गत वर्ष देशभरि १ सय २० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ।

गत वर्ष मानव अधिकार उल्लंघनसम्बन्धी घटनामा ५ हजार १ सय १० जना पीडित भएका छन्। ती घटनामा पीडित महिला र बालबालिकाको संख्या धेरै रहेको पनि पुस्तकले औंल्याएको छ। मंगलबार सार्वजनिक इन्सेकको वर्ष पुस्तकमा महिला अधिकार उल्लंघनसम्बन्धी २ हजार ८ सय २४ र बाल अधिकारसम्बन्धी १ हजार २ सय ४८ घटना भएको उल्लेख छ।

पुस्तकका अनुसार गत वर्ष १ हजार ६ सय ३२ घरेलु हिंसाका घटना भएको र ३ सय २६ महिला बहुविवाहबाट पीडित भएका छन्। दाइजो नल्याएको आरोपमा धनुषामा २ र बारामा १ जना महिला मारिएको र २२ महिलामाथि दाइजोकै कारण घरेलु हिंसा भएको जनाइएको छ। ८२ जना महिला बेचबिखन तथा मानव तस्करीमा परेका छन्।

सन् २०१८ को मानव अधिकार अनुगमन प्रतिवेदनका रूपमा प्रकाशित वर्ष पुस्तकमा सन् २०१९ मा अपहरणका २८ घटना, १ सय २ जना गिरफ्तार भएको र हिरासत वा थुनामा २ जनाको मृत्यु भएको उल्लेख छ। ३ सय २८ जनाको हत्या भएको, ४ जनाको जेलभित्रै मृत्यु भएको, १९ जनालाई यातना दिइएको र ३६ जनामाथि अमानवीय व्यवहार भएको पनि पुस्तकमा उल्लेख छ। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया