पारिजातको जीवनकथा (पुर्णपाठसहित)

फागुन १३, २०७५ | आजको अर्थ
ajaako_artha

काठमाडौं – पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् ।

पारिजातको जन्म १९९४ सालमा भएको थियो । यिनको स्कुलको नाउँचाहिँ विष्णुकुमारी वाइबा थियो । साथै यिनको चिनाको नाउँ भने छेकुडोल्मा थियो । विष्णुकुमारी वाइबाले पारिजातको फूल नदेख्तै आफैं आफ्नो नाउँ पारिजात राखेकी थिइन् । पारिजातको फूलको बोट भने यिनले काठमाडौं आएपछि मात्र देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजातको फूल झरेपछि भुइँबाट मात्र टिपिन्छ भन्ने थाहा पाएर यिनले आफूलाई पारिजातमा नै रङ्गाएकी थिइन् ।

पारिजातका बुबा केएस लामा भारतीय सैनिक सेवामा आबद्ध थिए र आमा अमृता लामाले चाहिँ घरगृहस्थीलाई आफ्नो थाप्लामा बोकेकी थिइन् । पछि सैनिक सेवा छाडेर के। एस। लामा होमियो चिकित्सामा लागे । सैनिक सेवा छाडेपछि अथवा भनूँ औषधी बेच्ने काममा लाग्दा लामापरिवारको घरको छानो आर्थिक रूपले पातलो भएको थियो ।

पारिजातको बाल्यकाल कठ्याङ्ग्रिएर नै बित्यो । सानैदेखि उनी बिरामी भइरहन्थिन् । त्यसै बेलादेखि उनको शरीर कुँजिनेक्रम सुरु भएको थियो । पारिजात तेह्र वर्षी छँदा उनलाई हाडजोर्नी दुख्ने रोगले आक्रमण गरेको थियो । त्यही दुखाइ नै उनको जीवनभरिको साथी बन्न गयो । त्यसले उनलाई हरेक पल दुक्ख मात्र दिइरहृयो ।

पारिजात सानैदेखि अन्तर्मुखी स्वभावकी थिइन् । त्यस बेलादेखि नै उनी अटेरी, जिद्दी र एकलकाँटे पनि थिइन् । उनको वैयक्तिक चरित्रले उनलाई काव्ययात्रामा डोर्‍याएको थियो । सानैदेखि उनलाई आफ्नो घरगाउँका पाखा, पर्वत र जङ्गलमा डुलूँडुलूँ लाग्थ्यो, खोलाका डिलडिलमा सुतूँसुतूँ लाग्थ्यो र बाटाबाटामा गएर नाचूँनाचूँ लाग्थ्यो । पारिजात बाहिर गएको बेला सधैँजसो बनपाखाबाट फूल टिपेर ल्याउँथिन् र घरमा सजाउने गर्थिन् । फूल उनको मन पर्ने विषय मानिन्थ्यो ।

बाल्यकालमा नै पारिजातले आफ्नी आमा गुमाएकी थिइन् । त्यसैले घरका कामधन्दाहरू पनि पारिजातमा नै अटाउनुपथ्र्यो । त्यस बेला यिनले यस भूगोलको निर्देशक आफैंलाई ठान्ने गर्थिन् र उनी जे मनमा लाग्यो त्यही गर्ने गर्थिन् ।

पारिजातले छ कक्षा पढ्न थालेदेखि नै धीत मर्ने गरी चुरोट तान्ने गर्थिन् । चुरोटमा राम्ररी बानी परेपछि यी गाँजा खान पनि तल्लीन हुन थालिन् । वास्तवमा बिहानबेलुकाको भात खाइसकेपछि धुवाँको हरर तलतल लागेको यी थाहा पाउँथिन् ।

पारिजातका बाबुको आफ्नी छोरीलाई डाक्टर पढाउने इच्छा थियो । तर पारिजातको भने नाच्न, गाउन, लेख्न, डुल्न, बरालिन, खेल्नमा नै मन थियो । त्यसैले उनले आफ्ना बाबुका योजनामा आफ्नो एक रत्ती मन दिएकी थिइनन् । उनी आफ्नो जीवनलाई स्वतन्त्र छाड्न प्रकृतिसँग अनुमति माग्थिन् । त्यसैले उनी कहिल्यै पनि अर्काको वशमा परिनन् ।

पारिजात दशौं कक्षासम्म दार्जिलिङमा नै पढेर काठमाडौं प्रवेश गरिन् । काठमाडौंमा यिनी डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा भर्ना भएकी थिइन् ।

पारिजातले पद्मकन्या विद्याश्रमबाट एसएलसी पास गरिन् । यिनले आईए र बीए पद्मकन्या कलेजबाट पास गरिन् । पद्मकन्या कलेजमा पढ्दा पनि यिनले धेरै नै चुरोट तानिन् । त्यस बेला पद्मकन्यामा पढ्ने अरू विद्यार्थी पनि चुरोट खाने गर्थे । त्यहीँ पढेताका उनले गोविन्दबहादुर मल्ल गोठालेको ‘युगको शिकार’ नामक नारीप्रधान नाटकमा नायिकाका रूपमा अभिनय गरिन्स त्यस नाटकमा यिनको जोडा चित्तरञ्जन नेपाली थिए । अनि त्यस नाटकका निर्देशकचाहिँ श्यामदास वैष्णव थिए ।

पारिजात स्नातक उत्तीर्ण भएपछि वासुदेव लुइँटेलको सहयोगमा मदन मेमोरियल स्कुलमा अध्यापक बनिन् । त्यस बेला पारिजात त्यस स्कुलको नवौँ र दशौँ कक्षामा खास गरेर नेपाली, अङ्ग्रेजी, भूगोल र भारतको इतिहास पढाउँथिन् । त्यस बेला स्कुलमा गाइने प्रार्थनागीत पनि यिनैले लेखेकी थिइन्।स्कुलमा गुरुआमा हुनुभन्दा अघि नै यी साहित्यसृजनामा पनि समर्पित थिइन्।पारिजातलाई साहित्यरचनामा प्रेरित गर्नेमध्ये अग्रपङ्क्तिमा चित्तरञ्जन नेपाली थिए ।

मदन मेमोरियल स्कुलमा पढाउँदापढाउँदै पारिजात क्रमशः बिमारी हुन थालिन् । यसले गर्दा उनी स्कुल छाड्न बाध्य भइन् । स्कुल छाडेपछि उनी बाथको बिमारले कुँजिइन् । त्यसैताका उनले खाटमा सुतीसुती साहित्यिक रचना रच्ने गरिन् । त्यही पीडामा रन्थनिएका बेला उनले एउटा उपन्यास पनि लेखिन् । उनको त्यस कृतिको नाउँ ‘शिरीषको फूल’ रहृयो । वास्तवमा त्यस किताबलाई उनले ‘ढिला विष’ लगायत एघारवटा शिर्षक राखी प्रेमा शाहलाई उपन्यासको उपयुक्त नाउँ चुन्न अनुरोध गरेकी थिइन् । त्यसैले त्यस कृतिको पाण्डुलिपि पढेर प्रेमा शाहले त्यसको नाउँ ‘शिरीषको फूल’ राख्न पारिजातलाई सल्लाह दिएकी थिइन् ।

‘शिरीषको फूल’ लेखिसकेपछि पारिजातलाई रोगले झन्झन् सताउन थाल्यो । त्यसै बेलादेखि उनी जीवनभरि नउठ्ने भइन् । एउटा बैँसालु जीवनको भोग गरिरहेकै बेला उनी कुँजिने रोगबाट ग्रसित भइन् । त्यसपछि यिनले धूमपानका अतिरिक्त रक्सीको सेवनमा पनि आफूलाई डुबाउन थालिन् ।
शारीरिक रूपमा दुर्बल, अशक्त र अक्षम भए तापनि मानसिक रूपमा पारिजात सशक्त थिइन् । उनको व्यक्तित्वको सबैभन्दा राम्रो विशेषता के थियो भने उनलाई देखेपछि जुनसुकै मान्छेलाई पनि उनीप्रतिको अत्यन्तै माया, श्रद्धा र स्नेहले पगाल्थ्यो । बैंसका बेलामा त यी सुगन्धित गुलाफ नै थिइन्।ईश्वर बरालका अनुसार भन्ने हो भने “बैंसमा पारिजातको रूप, शरीर र बोली तीनै थोकले युवाहरू मोहित हुन्थे ।” त्यसैले धेरै युवाहरू उनका छेउ पुग्न धुरिन्थे ।

पारिजात प्रेमी स्वभावकी थिइन् । धेरैले पारिजात र शङ्कर लामिछानेका बीचमा पनि प्रेम रहेको शङ्का गरे । यसै प्रसङ्गमा वासुदेव लुइँटेलले भनेका थिए “शङ्कर लामिछाने पारिजातका भान्से मात्र थिएस प्रेम गर्ने अरू नै थिए ।” पारिजात सेक्सका मामलामा पनि त्यति टाढा थिइनन् । सेक्सका बारे उनी निर्धक्क भन्न र लेख्न पनि चुक्तिनथिन् र पछिसम्म उनले भनिरहिन् “मेरो पहिलो प्रेमीसँगको शारीरिक चाहना अझ पनि छ मसँग ।”

चौध वर्षपुगेपछि यिनले धनुवर मुखियासँग पहिलो औपचारिक प्रीति गाँसिन् । उनी सुन्दरी भएकै नाताले काठमाडौंमा पनि प्रायः साहित्यकारहरू उनका पछि लागिरहन्थे । त्यति बेला खास गरेर यौनपिपासुहरू माझ जोगिएर हिँड्न पारिजातलाई कठिन पनि थियो । वास्तवमा त्यस घडी आफ्नो नारीत्व जोगाउन उनी असफलै पनि थिइन् । किशोरावस्थामा नै दार्जिलिङबाट स्वच्छ तन लिएर काठमाडौंमा पसेकी पारिजातले भनेकी पनि थिइन् “म दार्जिलिङबाट आउँदा चोखी केटी आएकी थिएँ, म कुनै करप्टेड केटी थिइन ।”

पारिजातले साहित्य रचना गर्ने क्रममा प्रेम पनि लेखिन्, प्रकृति पनि लेखिन् र जीवन र जगत् पनि लेखिन् । लेख्तालेख्तै यिनले जम्माजम्मी तेईस पुस्तक लेखिन् ।

पारिजातका जेजति साहित्यिक सृजना भए तापनि उनी ‘शिरीषको फूल’ ले नै बाँचेकी छिन् । उनका अन्य कृतिहरू आआफ्नै ठाउँमा स्थापित भए तापनि पारिजातलाई ‘शिरीषको फूल’ले मात्रै अघि सारेको छ । तर उनले कुनै बेला भनेकी थिइन् “मेरो शिरीषको फूल च्यातिदिनू ।” वास्तवमा उनका राजनीतिक गुरु गोविन्द भट्टले ‘शिरीषको फूल’लाई ‘कागजको फूल’ लेखिदिएपछि उनले त्यस उपन्यासको तीव्र रूपमा आलोचना गरेकी थिइन् । मदन पुरस्कारसमेत टिपिसकेको त्यस कृतिलाई पारिजातले विकृत उपन्यासका रूपमा स्वीकार्दै जान थालेकी थिइन् ।

पारिजातको जीवनको दुर्भाग्य उनको शरीर र घरको दयनीय आर्थिक अवस्था नै थियो । आर्थिक अवस्था ब्र्रिेका कारणले पारिजातले मदन पुरस्कारसँग प्राप्त गरेको चाँदीको फ्रेम पनि बेचेकी थिइन् । पारिजात बिरामी भएर थला पर्दा ठाउँठाउँमा उनका नाउँमा चन्दा उठाइन्थ्यो । जिल्लाजिल्लामा यिनको सहयोगार्थ थैली भेला पारिन्थ्यो । तर यिनका नाउँमा जेजति पैसा उठाइए तापनि यिनले कहीँबाट पनि कुनै पनि प्रकारका चन्दा र आर्थिक सहयोग लिइनन् ।

पारिजातलाई प्रगतिशील साहित्यकारहरूले गुरुआमा नै मान्थे । पारिजातको स्रष्टाले पहिलो चरणमा स्वच्छन्दतावाद र छायावादलाई अङ्कमाल गर्‍यो । त्यसपछिका दिनहरूमा पारिजातको साधनाले अस्तित्ववादी, राल्फावादी हुँदै प्रगतिवादी मोडमा पुगेर विश्रान्ति लियो।

पारिजात साहित्यकार भएका नाताले राल्फाको नेतृत्वमा पसिन् । उनी नेपाल मानवअधिकार सङ्गठनकी उपाध्यक्ष पनि बनिन् । उनी प्रगतिशील लेखक सङ्घकी सदस्य पनि भइन् । उनी बन्दी सहायता नियोगकी संस्थापक तथा अध्यक्ष थिइन् । उनी मार्क्सवादी विचारमा बगेकी स्रष्टा थिइन् ।

पारिजात नेपाली भाषासाहित्यको सेवा गरेबापत उनी २०२२ सालमा मदन पुरस्कारबाट सम्मानित भइन् । साथै यिनले गंकी वसुन्धरा पुरस्कार र र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार पाइन् । त्यतिमात्रै होइन यिनले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट विद्वद्वृत्ति प्राप्त गरेकी थिइन् । उनी त्रिभुवन विश्वविद्यालय सभाको सदस्यमा मनोनीत भइन् । त्यसै गरी उनलाई नेपाल तामाङ घेदुङ सङ्घ र ‘जनमत’ साहित्यिक मासिकबाट अभिनन्दन गरिएको थियो । उनको शेषपछि उनको तस्बिर अङ्कित तीन रुपियाँको हुलाक टिकट प्रकाशनमा ल्यायो । त्यसै गरी ठाउँठाउँमा पारिजातका सालिक बन्न थाले । त्रिमूर्ति निकेतनले प्रेमराजेश्वरी थापा, गोमा र पारिजातलाई एकै ठाउँमा जोडेर पारिजातको पूर्णकदको सालिक निर्माण गर्ने पहल गरेको छ । उनका नाउँमा शिक्षण संस्था खुलेका छन् । उनका नाउँलाई शिर्षक बनाएर अनगिन्ती समालोचना, संस्मरण र जीवनीका कृति प्रकाशनमा आए।

पारिजातको इहलीला २०५० साल वैशाख ५ गते एकाबिहानै समाप्त भएको थियो । पारिजातको स्वर्गारोहणले एकपटक नेपाल नै हल्लियो । नेपाली साहित्यकी सुगन्धको विर्सजनले नेपाली भाषासाहित्यको सम्पूर्ण फाँट नै गहिरो शोकमा डुब्यो । त्यसपछि पारिजात एउटा राजनैतिक खेमाकी सम्पत्ति मात्र नभई समस्त नेपाली भाषासाहित्यकी र्सार्वजनिक सम्पत्ति बनिन् । उनका कृतिले नै उनी पाठकका भावनामा विराजमान भइन् । – नरेन्द्रराज प्रसाई समकालीन साहित्य बाट

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८