च्याम्पियन्स लिग: आज बार्सिलोना र लियोनबिच महाभिडन्त हुदैँ, यस्तो छ विगतको तथ्यांक

५ बर्ष अगाडि

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । जसमा आज एक खेलमा स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब लियोन भिड्दैछन् । खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेबाट बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

यो खेलका लागि बार्सिलोनाले लियोनलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यसअघि पहिलो लेगको खेल लियोनको घरमा भएको थियो, जुन ०–० गोलरहित बराबरीमा सकिएको थियो ।

सन् २०१५ यता च्याम्पियन्स लिग जित्न नसकेको बार्सिलोना यो सिजन हरहालतमा उपाधि जित्ने दौडमा छ । ठूला उपाधि जित्नकै लागि ट्रान्सफर मार्केटमा थुप्रै खेलाडी किनबेच गरेको बार्सिलोनाले आज लियोनविरुद्ध आफ्नो घरमा उत्कृष्ट टिम उतार्ने तयारी गरेको छ ।

आजको खेलमा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले टोलीका कप्तान लिओनल मेस्सी, लुइस स्वारेज, फिलिपे कोउटिन्होलगायत अधिकांश स्टार खेलाडीलाई रोजाइमा राख्नेछन् ।

बार्सिलोनाले ठूला प्रतियोगितामा अक्सर आफ्नो घरमा राम्रो नतिजा निकालेको इतिहास छ । आज पनि बार्सिलोनाले क्यामप नोउमा लियोनविरुद्ध यस्तै सहज नतिजाका निकाल्ने अनुमान गरिएको छ ।

तर, बार्सिलोनाको घरेलु मैदानमा उत्रिँदा लियोनले विश्वकै उत्कृक्ष्ट खेलाडीले भरिएको टोलीमाथि चर्को दबाब राख्नेछ । किनभने, उसले यसअघि आफ्नो घरमा उत्कृष्ट रक्षात्मक खेल खेलर बार्सिलोनालाई आफ्नो स्तर देखाइसकेको छ ।

को–कसरी पुग्छन् अन्तिम आठमा ?
आज आफ्नो घरमा उत्रिँदा बार्सिलोना चर्को दबाबमा हुनेछ । अघिल्लो लेगमा गोल नहुँदा दुवै टोलीमाथि उत्तिकै दबाब छ । तर, घरेलु टोली तथा उपाधि दाबेदार बार्सिलोनामाथि स्वभावैले बढी दबाब छ ।

आज आफ्नो घरमा हुने खेलबाट अन्तिम आठमा पुग्न बार्सिलोनालाई स्पष्ट गोलअन्तरमा जित आवश्यक पर्छ । जस्तो, १–०, २–१, ३–२ आदि । अन्यथा उसको अन्तिम आठको यात्रा टुंगिनेछ ।

यता, पाहुना टोली लियोनका लागि आजको खेलमा गोलसहितको बराबरी नै काफी हुन्छ । बार्सिलोनाको घरमा लियोनले कम्तीमा १–१ को बराबरी गरे पनि ऊ बार्सिलोनालाई निराश पार्दै अन्तिम आठमा जानेछ ।

लियोनका लागि आज बार्सिलोनाविरुद्ध १–१, २–२, ३–३ यी जुनसुकै नतिजा भए पनि अन्तिम आठमा जान काफी हुनेछ । तर, बार्सिलोनाले गोलअन्तरमा जित निकाले उसको अन्तिम आठको यात्रा टुंगिनेछ ।

तसर्थ, आज दुवै टोली चर्को दबाबबीच खेलनेछन् । किनभने, दुवै टोलीलाई खेल जित्न गोल चाहिन्छ । यदि निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए खेल ३० मिनेटमा जानेछ । र, त्यहाँ पनि नतिजा नआए खेल पेनाल्टीमा जानेछ ।

टोलीको अवस्था !
आजको खेलमा बार्सिलोनाका अधिकांश खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ । यसअघि चोटग्रस्त भनिएका उसामान डेम्बेले पनि टोलीमा छन् । तर, उनले खल्ने सम्भावना ज्यादै कम छ । अन्य सबै खेलाडी बार्सिलोनाको टोलीमा उपलब्ध छन् ।

यता, आज लियोनको टोलीमा सबै प्रमुख खेलाडी छन् । उसलाई चोट वा प्रतिबन्धको कुनै तनाव छैन । आजको खेलमा यसअघि प्रतिबन्धमा रहेका टोलीका प्रमुख हतियार मिडफिल्डर नविल फकिर बार्सिलोनाविरुद्ध उत्रिन तयार छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया