शेयर भर्न तयार हुनुस्

६ बर्ष अगाडि

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र आम नेपालीका लागि साधारण शेयर बिक्री गर्ने भएको छ ।

साधारण शेयर बिक्रीको आवश्यक तयारी सुरु भएको आयोजनाले जनाएको छ । आयोजनाको प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनी  लिमिटेडले करिब रु ३ अर्ब १७ करोड ८५ लाख बराबरको साधारण शेयर जारी गर्ने तयारी गरेको छ ।

त्यसमा स्थानीय दोलखाका जनतालाई कुल पुँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागिएको छ । आयोजनाकाअनुसार स्थानीयले रु १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउनेछन् ।

यस्तै आयोजनाले आम नेपालीलाई कुल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो अनुपातमा सर्वसाधारणले रु १ अर्ब ५८ करोड ८५ लाख बराबरको साधारण शेयर प्राप्त गर्ने छन् । शेयरको रुपमा भने सर्वसाधारणलाई  १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो ।

आगामी चैत्रको दोस्रो सातादेखि स्थानीय प्रभावित र सर्वसाधारणलाई शेयर बिक्री गर्न लागिएको आयोजनाले जनाएको छ ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको भोीतक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ ।

आयोजनाले यस अघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई साधारण शेयर बिक्री गरिसकेको छ ।

तर हालसम्म बिक्री भएका साधारण शेयर नेपाल स्टक एक्चेन्जमा भने सूचीकृत हुन सकेको छैन ।

स्थानीय तथा सर्वसाधारणलाई छुट्ट्याएको क्रमशः १० र १५ प्रतिशत साधारण सेयर बिक्री भए पछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर स्टकमा सूचीकृत गर्ने तयारी गरिएको हो ।

कम्पनीले  सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट स्वीकृति प्राप्त भए लगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

शेयरमा आवेदन दिनका लागि अनिवार्य रुपमा हितग्राही(डिम्याट खाता) खोल्नुपर्ने छ । सो खाताबिना सेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्न समेत कम्पनीले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

आयोजनाले  स्थानीयलाई समेत विभिन्न तीन श्रेणीमा विभाजन गरेको छ । आयोजनाले गरेको विभाजनमा अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्र रहेका छन् ।

गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित र कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको आयोजनाले जनाएको छ ।

स्थानीयले न्यूनत्तम ३० देखि अधिकत्तम ३०० सय कित्तासम्म शेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका छुट्ट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया