डेढ महिनापछि गण्डकी मेडिकल कलेजको ताला खुल्यो

५ बर्ष अगाडि

कास्की– विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोलेका छन् ।

 कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेकामा आज प्रहरीको रोहवरमा ताला खोलेका हुन् । 

कानूनी प्रक्रियामा आफ्ना मागहरु प्रवेश गरेको र नियमनकारी निकायको प्रतिवेदन नआउञ्जेलसम्म आन्दोलन स्थगित भएको उनीहरुले बताएका छन् । शैक्षिक एवम् अस्पतालको सेवा सञ्चालनमा कुनै पनि अवरोध नरहेको विद्यार्थी अनित सिन्हाले बताए । 

एमबिबिएस अध्ययनरत विद्यार्थीको परीक्षा यही चैत २१ गतेदेखि शुरु हुने भएकाले पनि परीक्षामा सहभागी हुनका लागि उनीहरु ताला खुलाउन सहमत भएका हुन् । मागमा कलेज प्रशासनबाट सुनुवाइ नभएपछि विद्यार्थीले सञ्चालक तथा कर्मचारीविरुद्ध फागुन २१ गते ठगीको उजुरी दर्ता गरेका थिए । 

विद्यार्थीको उजुरीपछि प्रहरीले कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत ११ जनालाई फागुन २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । कलेजका पूर्वप्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा पक्राउ परेर छन् भने बाँकी फरार रहेको प्रहरीको भनाइ छ । 

पक्राउ पुर्जीविरुद्ध कलेजका अध्यक्ष अर्यालसहितका छ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञा समेतको अन्तरिम आदेश माग गरी रिट दायर गरेकामा अदालते फागुन ३० गते अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया