आयो रे !! होली

५ बर्ष अगाडि

फागुपूर्णिमा अर्थात होली (रङ्गको पर्व) हामीमाझ भित्रिसकेको छ । होलीको दिन एक–अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू दलेर एक अर्कालाई रङ्गिन बनाउँने प्रचलन छ ।

साना बालबालिकादेखी वृद्धवृद्धाहरुपनि फागुमा रमाईरहेका हुन्छन् । तर पछिल्लो समय एकअर्कामा रंग दलेर खुसी साटासाट गरेर मनाइने होली पर्वमा केही विकृत प्रवृति पनि भित्रिएको छ ।

बालबालिकाहरु होली आउनुभन्दा अगाडिदेखि नै लोला हान्ने, पानी छ्याप्ने गर्छन । सडकका दायाँबाँया बाटो कुरेर होस् वा आफ्नो घरको छतबाट नै किन नहोस् पिचकारी वा लोलाको डल्लोले बाटोमा हिडिरहेका मानिसहरुलाई हिर्काउँछन् ।

विशेषगरी यस्ता समस्या शहरी क्षेत्रमा बढी भोग्नु पर्छ । पछिल्लो समय गाँउघरमा फागु पुर्णिमाकै दिनमा पनि यस्ता कुरा कमै देख्न पाईन्छ ।

बालबालिका जोगाऔं
होली खेल्ने क्रममा बालबालिकाहरु संयमित भएर खेलेको देखिँदैन । एक त बालबालिकाहरु बाटोमा रमाउँदै होली खेलिरहँदा बाटोमा गुड्ने सवारीलाई ध्यान दिँदैनन् भने सवारीचालक पनि होली खेल्नेले रङ छ्याप्न नपाउँन भन्दै दु्रत गतीमा सवारी चलाउने हुँदा दुर्घटना हुन सक्छ ।

होली खेल्दा दौडने क्रममा लडेर चोट लाग्न सक्ने, होली खेल्ने क्रममा घरको छतबाट लड्ने, धेरै मान्छे जम्मा भएर होली खेल्दा दुर्घटनापनि हुने गरेको छ ।

त्यसको जिम्मेवारी कसले लिने ? त्यसैले अभिभावकहरुले आफ्ना बालबालिकालाई होली खेल्दा हुने दुर्घटनाबारे सचेत गराउनुपर्ने देखिन्छ ।

जबरजस्ती गर्नेलाई कारबाही
होलीलाई गलत ढंगले प्रयोग गरेका उदाहरण प्रशस्त छन् । नशालु पदार्थ, भाङ, रक्सी सेवन गरी कुटपिटका घटना, हातखुट्टा भाँचिएर अस्पताल भर्ना भएका धेरै घटना हुने गरेका छन् ।

यस्ता गतिविधिहरु नियन्त्रणका लागी प्रहरीले जबरजस्ती लोला हान्ने, रङ छ्याप्ने, इच्छा विपरित रङ दल्नेलाइ पक्राउगरि सार्वजनिक सुरक्षा अन्तर्गत कारवाही गर्ने बताएको छ ।

होलीमा आपराधिक गतिविधि हुन नदिन प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका बरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । कतै आपराधिक क्रियाकलाप भएमा तत्कालै कारवाहीका लागि प्रहरी टोली तयार अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

यस्तै, प्रहरीले ट्राफिक नियमविपरित सवारी चलाउनेलाई कारवाही गर्ने तयारी पनि गरेको छ । मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको, अनुहार नचिनिने गरी रंग लगाएको, हेलमेट नलगाई मोटरसाइकल चलाउने लगायत ट्राफिक नियम उल्लंघन गरेको पाइएमा कारवाही गर्ने महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

होलीमा सावधानी
अर्कोतर्फ स्वास्थ्यका हिसाबले होलीमा प्रयोग गरिने रंगबाट पनि सतर्क रहनुपर्छ । होलीमा गलत रूपमा प्रयोग गरिने हानिकारक रंग, मोबिल, कालो मोसो, नालीको पानीले शरीरलाई नकारात्मक असर पुर्याउन सक्दछ । तसर्थ होली खेल्दा स्वास्थ्यमा असर नपर्ने गरी वा कमभन्दा कम असर पुग्ने गरी रङको प्रयोग गर्नुपर्ने धुलिखेल अस्पताका प्रो.डाक्टर धर्मेन्द्र कर्ण बताउँछन् ।

होलीमा प्रयोग गरिने रङ र विभिन्न रासायनिक तत्वहरूले छाला, आँखा, कान लगायत शरीरका विभिन्न अंगमा नकारात्मक असर पुर्याउँछ ।

फलस्वरूप छाला रातो हुने, चिलाउने, रातो डाम बस्ने हुनसक्छ । त्यसैले होली खेल्दा सकेसम्म फुस्रो रङको प्रयोग गर्नुपर्ने डाक्टरहरुको सुझाव रहेको छ ।

रङ आँखाभित्र पसे चिलाउने, रातो हुने, पानी बग्ने, आँखा पाक्ने, सक्ने हुनसक्छ । त्यस्तै कानमा पसे चिलाउने र पछि गएर कान पाक्ने जस्ता समस्या देखिनसक्छ । प्रायःजसो सबै रंगमा हुने रसायनले शरीरको नरम छालामा एलर्जी हुन्छ ।

त्यसैले रङको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्ने डा. कर्णको भनाई छ । होलीको रंगको असर कम गरी होली खेल्नु अघिल्लो दिन नै शरीरमा तेल लगाउन जरुरी रहेको डा. कर्णको भनाई छ ।

आँखा, कान तथा मुखमा रंग लगाउनु नहुने डाक्टरहरुको सल्लाह रहेको छ । त्यस्तै होली खेल्ने क्रममा चस्माको प्रयोग नगर्न पनि डा. कर्ण सुझाव दिन्छन् । चस्मा फुटेर आँखालाई खतरा हुन सक्ने भन्दै चस्माको प्रयोग नगर्न सुझाएका छन् । साथै शरीरमा पूर्ण रुपमा कपडा लगाउने, गरगहना नलगाउन पनि डाक्टरहरुको सुभाmब छ ।

होलीको रङ कसरी फाल्ने ?
होली खेलिसकेपछि रङ फाल्न नुहाउने क्रममा धेरै साबुन लगाउने, छाला धेरै रगड्ने, जस्ता कार्य गर्छन् । तर त्यसो गर्नाले छालालाई असर गर्ने डा. धर्मेन्द्र बताउँछन् ।

त्यसैले नुहाउने बेलामा मनतातो पानीमा नुनको प्रयोग गरेर नुहाउनुपर्छ । नुहाईसकेपछि छालामा हल्का खालको क्रिम वा तेलको प्रयोग गर्नुपर्छ । छाला रातो हुने, छालामा डाबर आउने, चिलाउने भएमा तत्काल स्वास्थ्य–संस्थामा गई उपचार गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया