देउडा संस्कृतिको संरक्षणमा जोेड

५ बर्ष अगाडि

खलङ्गा – कर्णाली देउडा समाज जुम्लाले माघ महीनाको १ गतेबाट जुम्ला सदरमुकाममा नियमित देउडा कार्यक्रम गर्दै आएको छ । 

नियमित देउडा कार्यक्रमअन्तर्गत जुम्लाको सदरमुकाममा आज पनि देउडा कार्यक्रम गरिएको हो । हराउँदै गएको देउडा संस्कृतिको संरक्षण गर्न र प्रचारप्रसारको लागि प्रत्येक महीनाको १ गतेका दिन देउडा कार्यक्रमको थालनी गरिएको हो । कर्णालीको मौलिक परम्पराका रुपमा रहेका देउडा गीतको संरक्षण र विकास गर्ने उद्देश्यले माघ महीनाको १ गतेबाट देउडा कार्यक्रमको आयोजना गरिएको कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । 

कर्णालीको देउडाको विकास गर्नको लागि प्रत्येक महीनाको १ गतेका दिन देउडा कार्यक्रमको शुरुआत गरिएको उहाँको भनाइ छ । नेपाली सेनाको खेल मैदानमा शुक्रबार भएको देउडा कार्यक्रममा नौ जना टिमको सहभागिता रहेको थियो । 

जसमा चार महिला र पाँच वटा पुरुष टिमको सहभागिता रहेको कर्णाली देउडा समाज जुम्लाका उपाध्यक्ष दुर्गा आचार्यले बताउनुभयो । हराउँदै गएको देउडाको संरक्षण र प्रवद्र्धन गर्नको लागि प्रत्येक महीनामा देउडा गीतको कार्यक्रम राखिएको कर्णाली देउडा समाज जुम्लाले जनाएको छ । स्थानीय पहिरनको महत्वसमेत घट्दै गएकाले यसको संस्थागत विकास गरी पुर्खाको अस्तित्व बचाइ राख्न खोजिएको अध्यक्ष धितालको भनाइ छ । 

विभिन्न उमेर समूहका महिला पुरुषले एकआपसमा परम्परागत देउडा गीत गाउने चलन जुम्लामा रहेको छ । हराउँदै गएको चलनलाई विकास गर्नको लागि देउडा प्रतियोगिताको आयोजना हुने गरेको अध्यक्ष धितालको भनाइ छ । कुनै बेला जुनसुकै शुभकार्यमा अनिवार्य गाइने कर्णालीको देउडा गीत पछिल्लो समय हराउँदै गएको धितालले बताउनुभयो । 

केही वर्षपहिले मौलिकतासँगै शुभअवसरमा रमाइलोका लागि गाइने देउडा गीत सुन्न अचेल देउडा कार्यक्रमको आयोजना नै गर्नुपर्ने आवश्कता देखिएको हो । देउडा गीतसँगै कर्णालीमा गाइने झोडा, चुटिकलो, मागल, चरन, रत्यौली गीतसमेत हिजोआज सुनिन छाडेका छन् । 

विभिन्न अवसरमा यहाँ आयोजना हुने मेला, महोत्सव, चाडपर्व, विवाह, व्रतबन्ध, पूजाआजा, रुद्रीकथामा गाइने एवं वाचन गरिने भिन्न प्रकृतिका गीत अहिले कर्णालीको लागि किंवदन्ती जस्तै बन्नथालेको बताइएको छ । 

बालोनाच, चोपाइ, ढाल भैलीजस्ता गीतहरु कमै मात्र सुनिने गरेको देउडा समाजका अध्यक्ष पुर्णप्रसाद धितालले बताउनुभयो । 

५ बर्ष अगाडि

प्रतिक्रिया