सौर्य एयरलाइन्समा विवादास्पद भारतीय व्यापारी, आधिकारिक जानकारी छैन नियामक निकायलाई

५ बर्ष अगाडि

काठमाडौँ – नेपालका सरकारी निकाय कतिसम्म निकम्मा र हद दर्जाको लापरवाहीमा छन् भन्ने कुराहरु सामान्य घटनाक्रमले पनि पुस्टि गर्ने गरेको छ । सरकारी निकायको लापरवाहीका कारण विमानस्थल जस्तो संवेदनशिल तथा असाध्यै महत्वको क्षेत्रमा समेत चरम लापरवाही हुने गरेको पाइएको छ । प्रसंग हो  सौर्य एयरलाइन्सको । 

नागरिक उड्डयन क्षेत्रको नियमनका लागि सरकारी निकायको रुपमा कार्यरत छ । नेपाल नागरिक उड्डयन प्राधिकरण । तर विमान कम्पनीले गरिरहेको कारोवार तथा अन्य विषयमा जानकारी पाउन उसैलाई नै हम्मे हम्मे पर्ने गरेको छ । प्राधिकरणले जहाज चलाउने व्यक्ति वा समूहको वित्तिय अवस्था अध्ययन गर्न समेत सकेको छैन । यो भन्दा लाजमर्दो र लापरवाहीपूर्ण अवस्था अरु के हुन सक्छ । 

हवाई व्यवसायमा आउने व्यक्ति वा समूह वित्तिय रुपमा सबल नभएमा सेवामै प्रश्नचिन्ह खडा हुने भएकाले अध्ययन गर्नुपर्ने निष्कर्षमा प्राधिकरण पुगेपनि जनशक्ति अभावले अगाडि बढाउन सकेको छैन । तालुकदार मन्त्रालयको रुपमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत सो विषयमा आवश्यक चासो दिएको छैन । जसका कारण विमान कम्पनी कसले खरीद गर्छ र कसले बेच्छ भन्ने बारेमा समेत प्राधिकरणले सञ्चार माध्यममा आउने जानकारीका आधारमा आवश्यक निर्णय गर्नु परेको छ । 

 नेपालको कानुन अनुसार कम्पनी ऐन अनुसार दर्ता भएपछि मात्रै प्राधिकरणमा आएको फाइल अनुसार अगाडि बढ्ने गरेको थियो । तर पछिल्लो समयमा विमान किनबेचमा केही समस्या देखिएपछि वित्तिय अवस्था हेर्नुपर्ने अवस्था आएको छ । तर प्राधिकरणसँग आवश्यक जनशक्ति समेत रहेको छैन  भने विमान सेवा प्रदायकले कुनै पनि जानकारी समेत दिने गरेको छैन । वायु सेवा प्रदायक वित्तिय अवस्था हेर्नका लागि चार्टर्ड एकाउन्टेन्टको सूचना निकालेपनि आवेदन नपरेको भन्दै प्राधिकरण पन्छेर बस्ने गरेको  छ । वित्तिय अवस्था अध्ययनका लागि चार्टर्ड एकाउन्टेन्टको आवेदन मागेको भएपनि तलब तथा सेवा सुविधामा कुरा नमिल्दा आवेदन नै नपर्ने अवस्था रहेको प्राधिकरणको भनाइ छ ।

चार्टर्ड एकाउन्टेन्टको ९ तहमा ल्याउनुपर्ने प्राधिकरणको भनाई छ । तर तलब सुविधा भने रु ४० हजार भन्दा माथि नहुने भएकाले पनि आकर्षण कम भएको प्राधिकरणको बुझाइ छ । अन्य काममा नै बढी कमाइ हुने भएकाले प्राधिकरणमा जागिर खानका लागि उनीहरु नआउने भएकाले पनि समस्या देखिएको हो । 
चार्टर्ड एकाउन्टेन्टबीचको आपसी सहमतिले पनि वित्तिय अवस्था अध्ययन गर्न कठिन भएको बताइन्छ । एउटा चार्टर्ड एकाउन्टेन्टको प्रतिवेदनलाई अर्को चार्टर्ड एकाउन्टेन्टले प्रश्न उठाउन नमिल्ने सहमति रहेको बताइन्छ । जसका कारण प्राधिकरण समस्यामा पर्दै आएको छ । प्राधिकरणसँग चार्टर्ड एकाउन्टेन्ट नभएकैले निजी विमान कम्पनीले विमान खरीदबिक्रीमा खेलाँची गरिरहेका छन् । जसको कारण नेपालको हवाई सुरक्षामा समेत गम्भीर प्रश्न चिन्ह खडा भएको छ । 

पछिल्लो समयमा सौर्य एयर किनबेच पनि शंकास्पद देखिएको छ । आधा वर्षको बीचमा दुई पटक सौर्य एयर बिक्री भएपनि प्राधिकरणले आधिकारिक पत्र अहिलेसम्म पाएको छैन । आधिकारिक पत्र नपाएपछि किनबेचको विषय संचारमाध्यमबाट मात्रै जानकारी पाउने गरेको प्राधिकरणले जनाएको छ । करिब  ६ महिना अघि साउनमा रु ६७ करोड को दायित्व लिएर भित्रिएका भनिएका घनश्याम अधिकारी वाहिरिसकेका छन् भने अहिले फेरी भारतको कुबेर समूहको क्लब वान कम्पनी आएको दाबी गरिएको छ । 

सो भारतीय कम्पनीको हैसियत के हो भन्ने बारेमा चासो लिने निकायले समेत थाहा पाउन सकेको छैन । जसको कारण विमानस्थल र विमान सेवा कम्पनीमा समेत समस्या आउन सक्ने देखिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया