राप्रपा संयुक्तको वैधानिकतामा प्रश्न, दल दर्ता नहुने

५ बर्ष अगाडि

 काठमाडौं-गत माघ १८ गते एकता भएर नयाँ पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को पार्टी वैधानिकतामा प्रश्नचिन्ह लागेको छ ।
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइए पनि उक्त दलले अहिलेसम्म बैधानिकता पाएको छैन । समाचारस्रोतका अनुसार पार्टीले बुझाएको कागजात अपुग छ ।

पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएर बनेको पार्टीको नाम राप्रपा (संयुक्त) राखिएको थियो । राणा र लोहनीको निर्णयका आधारमा मात्र एकता भएको र पार्टीभित्र प्रशस्त छलफल नभएको भन्दै त्यति बेला नै दुवै पार्टीमा असन्तुष्टि रहँदै आएको थियो ।
राप्रपा (संयुक्त) ले कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि पार्टी एकताका लागि आव्हान गरिरहेको बेला यो पार्टीको वैधानिकता नै धरापमा पर्ने सम्भावना छ । राप्रपाले हलो चिन्ह मागेको छ । लेटरप्याडमा हलो चिन्ह नै प्रयोग छ । पार्टीले आयोगमा ६४ जनाको केन्द्रीय समिति रहेको नामावली बुझाएको छ ।

राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाइएको ऐनको दफा १० मा दलहरु एकीकरण हुन वा गाभिन सक्ने व्यवस्था छ । यो दफाको उपदफा (१) मा भनिएको छ– ‘दफा ४ बमोजिम दर्ता भएका दुई वा दुईभन्दा बढी दलहरु एकआपसमा सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्नेछन् ।’

दफा ४ मा दल दर्ता हुनुपर्ने व्यवस्था छ । यसै दफामा थपिएको छ– ‘उपदफा १ बमोजिम एकीकरण हुन वा गाभिन सम्झौता भएको ४५ दिनभित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र उपदफा १ बमोजिमको सम्झौताको प्रतिलिपि संलग्न गरी आयोगमा निवेदन दिनुपर्नेछ ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया