कुमार नगरकोटीको त्यो "घाटमाण्डु"

४ बर्ष अगाडि

काठमाडौं — घाटमान्डु । यो पात्रहरू बसोबास गर्ने लोक हो । पात्रलोक भन्दा पनि हुन्छ । हामी सबै यहाँका बासिन्दाहरू कुनै न कुनै कथा, पेन्टिङ, उपन्यास, नाटकका पात्रहरू हौं । यो घाटमान्डु अनेकथरीका पात्रहरू बसीबियाँलो गर्ने पात्रलोक हो । तिमीचाहिँ कुन उपन्यासको पात्र हौ ? कुरा त्यस्तो पो रहेछ ? म पात्रहरूको अद्भुत संसारमा रहेछु ।

आँखा उघ्रिँदा मैले आफूलाई पार्कको बेन्चमा फेला पारें । मगज खलबलिएको थियो सायद । अनि टाउको अविस्मरणीय किसिमले दु:खी रहेको थियो । लाग्थ्यो खोपडीभित्र सयौंको हाराहारीमा गोब्रेकीराहरू मेरो गिदी कुटुकुटु खाइरहेका छन् ।

शरीरभित्र जडान गरिएका मांसपेशीलगायत नसाहरू जुटको बटारिएको मोटो डोरीझैं तन्किरहेका थिए र कुनै पनि ऐनमौकामा प्याट्ट चुँडिन सक्थे । यस्तो खालको दैहिक यातना कहिल्यै महसुस गरेको थिइनँ । त्यो कष्टसाध्य पीडा ज्यादै मौलिक, अपरिचयी एवं अज्ञातजन्य थियो । 

म काठमो बेन्चमा उत्तानो परी ढलेको रहेछु ! या ढालिएको थिएँ ? मलाई कसले त्यसरी पार्कमा थपक्क छाडी गएको थियो ? कति समयदेखि म त्यो काठको बेन्चमा काठको मुढासमान– कसैको परित्यक्त सामानझैं – छाडिएको थिएँ ? मलाई कसरी, कहिले, किन, कुन गुप्त प्रयोजनका निम्ति कसैले त्यसरी मिल्काइदिएको थियो ? जसैजसै म सोच्न खोज्थें तसै तसै– अनायास, त्यसै त्यसै– गोब्रेकीराको कुटुकुटु यन्त्रयामय ध्वनि–घनत्व मगजमा सहसा बढ्दै जान्थ्यो । 

अपरिचित मानिसहरूद्वारा म घेरिएको थिएँ । ती परचक्रीहरूका कुटिल अनि प्रश्निल नजरका छायाहरूले मेरो उदाङ्गो अनुहारभरि गिद्धका चल्लाले झैं ठुँगिरहेका थिए । मेरो टाउकोनिर बडो सकसपूर्ण तरिकाले उभिएको एउटा मान्छे केही झुक्यो र मेरो दायाँ कानमा आफ्नो थुतुनो जात्दै फुसफुस गर्‍यो : आँखा खोल्नुभयो, हाम्रा लागि त्यै ठूलो कुरा भयो । नत्र त हामीलाई लाग्या थियो कुन चाहिँ पातकी दैत्यको लास यो बेन्चमा ढलिरा’छ ! लास ढलिरा’छ ! त्यो पनि कसको भन्दा कुनै पातकी दैत्यको !

उसको कुरा अत्यासलाग्दो थियो । बडो उदेकमय लगायत कौतुकक्षयी ! मैले मुख खोलें : म दैत्य होइन । म लाश होइन ।

– होइन होइन । उसले भन्यो– न तपाईं दैत्य हो न त लास हो । हामीलाई त्यस्तो लाग्या मात्र हो ।  मेरो अनुहारमा फ्यात्त झरेका दृष्टिहरूमा मप्रति बेहिसाब उत्सुकता थिए । जिज्ञासा थिए । ती काँतर आँखामा अन्त:शुल्कको स्टिकर अनाङ्कित मौन आतंक व्याप्त थियो । म केही चलमलाउन थालें । बिस्तारै ज्यादे कष्टपूर्वक उठें । अघिकै भलाद्मीले आफ्नो थुतुनो पुन: चलायो : यो पिउनुस् । ताजा महसुस गर्नुहुनेछ ।

निजको हातमा स्वर्ण कमण्डलु थियो । कमण्डलुमा विचित्र रङको झोल थियो । झोल सौर्य किरणको आघातमा चम्किरहेको थियो । त्यसलाई मैले एकै झमटमा घटघट पिएँ । स्वाद ज्यादै टर्रा र ज्यादै अपरिचित लाग्यो । अपरिचितले तेस्रोपटक थुतुनो चलायो : जडिबुटीमा फलफूलको रस र भष्म मिलाएर बनाएको पेय हो त्यो । तपाईंको तन र मनलाई यसले चङ्गा बनाउँछ । 

निजले भनेको कुरा ठीकै रहेछ । अघिसम्म पीडा, कष्ट र यातनाको कारखाना भएको मेरो आँखा आफ्नो आङमा लडिबडी खेल्न थालें । आफ्नो देह देखी म चकित परें । म सर्वाङ्ग नग्न थिएँ । हँसिया आकारको उक्त भीडबाट एउटी नारीले मतर्फ एक, दुई, तीन पाइला सारी । अग्लो काँटको स्थूल ज्याल स्निग्ध चेहरा । नाइटो नछोपिएको खुकुलो छिटको चोलो । लम्बेतान नीलो धोती भुँडीभन्दा मुनिको कटीमा एउटा गाँठोको भरमा अडेको । विभिन्न आकारका चाँदीका चेप्टा चेप्टा गहना कानमा, घाँटीमा र गोडामा । आँखा कति काला ! कति ठूला ! परेला बाङ्गिएका । मुखको रोगन त कालै हो तर कति चिल्लो ! जिप्सी–स्त्री ? जिप्सी–स्त्रीले मलाई आफ्नो हात समाउन दिँदै भनी : यसरी पनि कोही निदाउँदो हो !

मेरो पछिपछि आउनुस् । दुग्धकुण्डमा स्नान गर्नुस् । मलाई समाउन दिइएको हातलाई समातें । औंलाहरू ताछिएको सिसाकलमझैं सुलुत्त परेका उसैको पछि लागें । मलाई डोर्‍याउँदै उसले पार्कको कुनातिर लिएर गई । मलाई आफ्नो नाङ्गो शरीरदेखि प्रशस्त लाज लागिरहेको थियो । अन्योलग्रस्त त थिएँ नै, म संकोचग्रस्त पनि भएँ । जिप्सी–स्त्रीले भनेको सुनें : आफ्नो नग्नताबारे तपाईंले कुनै संकोच मान्नु पर्दैन । आफ्नै नाङ्गो शरीरप्रति केको सरम ! नग्नता शरीरमा हुँदैन । बरु त्यसलाई हेर्ने वाहियात आँखा र विचारमा हुन्छ । जिप्सी–वाणीले मन होलो भयो । 

ढुङ्गा ओछ्याइएको बाटो हुँदै ओरालो झरेपछि कुण्ड देखा पर्‍यो । श्वैत दुग्ध कुण्ड । कुण्डमा छिरें । छप्लाङ छुप्लुङ गर्दै कुनामा अवस्थित/व्यवस्थित स्वर्ण–धारामा गएँ जहाँबाट एक मुस्लो दूध एकनासले निर्झर निर्झर झरिरहेको थियो । दूध मनतातो नभई केही तनतातो थियो । 

धाराको मुन्तिर आँखा चिम्लीकन पलेंटी मारी बसें । तालुमा दुग्ध–धाराको काउकुतीमय थप्पड महसुस गरें । जिप्सी–स्त्रीका सिसाकलमी–औंलाहरू मेरो ढाडमा चलमलाउन/सलबलाउन थालेपछि म झस्किएँ ।

–किन झस्किएको ? उसले भनी । तपाईंलाई म धोइपखाली सफासुग्घर पार्दैछु । दुग्धकुण्डमा सफासुग्घर भएपछि तपाईंलाई कुनै पनि रोगव्याधिले हतपति छुन सक्दैन ।  दुग्धकुण्डमा मेरो सम्पूर्ण तन/मनका पयल पखालिए । तन/मनका कापकापमा जमेका मैलालाई जिप्सी–स्त्रीले धोइ–पखाली गरी मलाई स्निग्ध तुल्याइदिई । मैले आफूलाई बडो ताजा र निर्मल पाएँ । दयालु एवम् मायालु जिप्सी–स्त्रीसित सोधें :  तपाईंलाई मैले कसो गरी धन्यवाद दिनुपर्ने हो, मलाई थाहा छैन । कसरी आभार व्यक्त गरुँ, त्यो पनि थाहा छैन ।

–आभार व्यक्त गर्नु आवश्यक छैन । उनले भनी– आभार त दुष्टहरूले साभार गर्ने कपटी मेसो मात्र हो । उसको जवाफ सुनी म तृप्त भएँ । अनि आफ्नो अन्तरिम खुल्दुली व्यक्त गरें : मलाई यसरी ताजा बनाइदिनुभयो, सफासुग्घर पारिदिनुभयो । कृपा गरी मलाई यो पनि बताइदिनुस् कि तपाईं वास्तवमा को हुनुहुन्छ ? तपाईंको नाम के हो ? आफ्नो अर्ध भिजेको केशराशिलाई जुरोमा बाँधी जिप्सी–स्त्रीले भनी :  म मोदिआइन हुँ ।

– मोदिआइन ! अहा कस्तो सुन्दर नाम !!– भनें ।

– म विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासको पात्र हुँ– उसले भनी ।

– अच्छा ! त्यसो भए तपाईं उपन्यासको पात्र पो हुनुहुन्छ ? मोदिआइनले हो भनी । त्यसपछि मायालु पाराले, बडो स्नेहिल लवजमा उसले बताई : म मात्र किन र ? यहाँ हामी सब पात्रहरू हौं । तिमीलाई अघि कमण्डलुमा भष्म पेय पिलाउने मनुवा पण्डित बाकृष्ण शास्त्री हो– प्रेतकल्प उपन्यासको पात्र । लेखक नारायण ढकालले जन्माएको मानसपुत्र । बरू यो लोकमा हामीले तिमीलाई यसअघि कहिल्यै देखेका थिएनौं । तिमीचाहिँ को हौं ?

म को हुँ ? मलाई थाहा थिएन । सारा समस्याको जड यही थियो : म को हुँ ? मेरो नाम के थियो ? म केही सम्झन सकिरहेको थिइनँ । कुन भवितव्यको दोषपूर्ण नियतिले मलाई त्यहाँ पुर्‍याएको थियो, त्यसबारे म पूर्ण अनभिज्ञ थिएँ । केही ठम्याउन सकिरहेको थिइनँ । स्मृतिजन्य समग्र चुडान्तमय पूर्वसम्बन्ध र परिचय इत्यादिबाट म वस्तुत: आत्मच्युत भएको थिएँ ।

आफ्नो पूर्वस्मृतिबाट म सम्पूर्ण रुपले विच्छेद भइसकेको थिएँ । मोदिआइनसित मैले सोध्या थिएँ : ‘यो कस्तो ठाउँ हो ? यो कुन लोक हो ?’

–यो घाटमान्डु हो ।– उसले भनेकी थिई ।

– घाटमान्डु ?– प्रश्नवाचक चिन्ह बनी म ठिङ्ग उभिएको थिएँ ।

– हो, तर म कसरी त्यसरी पार्कको बेन्चमा उत्पत्ति भएँ ? यो गाँठी कुरा मेरो समझ र अन्त:प्राज्ञ बाहिरको थियो । वरपरको जगत् हेर्छु । त्यो कुनै तिलस्मी कथाको कुनै कल्पना–लोक अवश्य पनि थिएन ।

मोदिआइनको प्रश्निल जिज्ञासाले म झस्केको थिएँ । साँच्चि, म कुन उपन्यासको पात्र थिएँ ? या कथा, नाटक, पेन्टिङकै पो कुनै नाम नखुलेको चरित्र थिएँ ? मलाई कुन जीवित या दिवङ्गत लेखकले आफ्नो कृतिमा लेखेको थियो ? मेरो जानकारीबिना ? या म कुनै अप्रकाशित, परित्यक्त पाण्डुलिपिको फगत एक अज्ञात पात्र पो थिएँ कि ! आफ्नो अस्तित्वबारे अनेक शङ्का, उपशङ्का गर्दै, सोचमग्न हुँदै म पुन: पार्कको बेन्चमा एक्लै फर्कें । मोदिआइन उतै दुग्धकुण्डमा अलमलिई ।

कमण्डलु समातेको पण्डितले समूहलाई सम्बोधन गर्दै भन्यो :  अतिथि देउतासमान हुन्छ, अतिथि देवो भव: हो कि होइन ? तर मित्रजनहरू ! तपाईंहरूले देखि नै सक्नुभा’छ कि हाम्रा अतिथि नग्न हुनुहुन्छ । वस्त्रविहीन हुनुहुन्छ । तसर्थ हामीले आफ्नो कर्तव्यको पालना गर्नुपर्छ । हो कि होइन ? सबैले होमा हो मिलाए । आफ्नो कुरा जारी राख्दै पण्डितले भन्यो, ‘अतिथिको नग्नता अथवा लाज छोप्न हामी सबैले एकेकवटा वस्त्रदान गरौं । अतिथिसामु सबैले आ–आफ्नो परिचय दिँदै, लौ त मित्रहरू हो काम सम्पन्न गरौं ।’

त्यसलगत्तै निजले मतर्फ अघि बढ्दै भन्यो, ‘म पण्डित बालकृष्ण शास्त्री । अतिथिलाई म टोपी दान गर्छु ।’ यति भनेपछि आफ्नो टोउकोबाट टोपी झिकेर निजले मरो शिरमा लगाइदियो । त्यसपछि क्रमैसँग सबैले वस्त्रदान गर्न थाले । वस्त्रहरू देबलमा थुप्रिन थाले ।

एकजना भलाद्मीले बतायो :  म सुवेदार शिवजित राई – जयमाया आफूमात्र लिखापानी आइपुगी– कथाको पात्र । मेरो लेखक श्रद्धेय इन्द्रबहादुर राई । संयोगकै भने लेखक राई अनि पात्र पनि राई । इन्द्रबहादुर राई र शिवजित राई दाइभाइ । कि कसो हो ? लौत भने म हाम्रा अतिथिलाई आफ्नो किम्ती खालको स्यान्डो बनियान प्रदान गर्छु ।

एकएक गरी सबैले वस्त्रदान गर्न थाले । पात्र, कृति र दानहरूको सूची यसप्रकार छ : एउटा भलाद्मीले भन्यो, ‘म तपाईंलाई आफ्नो मोजासहितको एक जोर छालाको जुत्ता भेटी चढाउँछु । बाई द वे, मेरो नाम ए साँच्चि मेरो नामचाहिँ के हो र ?’ निजले आफ्नो नाम बिस्र्यो । पण्डित बालकृष्ण शास्त्रीले भन्यो : –ह्या रंगनाथ ! तिमी पनि अति गर्छौ यार ! सधैं नाम बिर्सिरहन्छौ । तिमी –घनचक्कर– उपन्यासको पात्र हौ ।

– अनि मरो लेखक चैं को नि ? – त्यो पनि बिस्र्यौ ? आफ्नै कुल देवताको नाम पनि बिस्र्यौ ?

– बिर्सें । माँ कसम बिर्सें । 

– तिम्रो कुलदेवताको नाम सञ्जीव उप्रेती हो क्या ! 

– ल ल ला ! ठीक छ ठीक छ । अब बिर्सन्नँ । तर अतिथिलाई मैले के गरी चढाउने भाकल पो गरेको हुँ रे ? रंगनाथको घनचक्करीय अन्दाज मलाई गजबको लाग्यो । कस्ता चाखलाग्दा पात्र रहेछन् ! यस्तैमा एकजना मानिस– जो अहिलेसम्म चुपचाप/गुपचुप थियो– आगे बढ्यो र मसित दह्रो हात मिलाउँदै भन्न थाल्यो, ‘हेलो अतिथि, गुड टु सी यु इन घाटमान्डु । म तपाईंलाई एउटा स्पेसल आइटम गिफ्ट गर्न चाहन्छु । आई एम मिस्टर सुगोवीर –शिरीषको फूल– को ट्राफिक नायक ।’

सुयोगवीरको कुरालाई बीचमा काट्दै पण्डित बालकृष्ण शास्त्रीले भन्यो, ‘ओई सुयोग भाइ, तिमीलाई नायक कसले भन्यो ? तिमीलाई नायकको कार्यकारी दर्जा कुनचाहिँ बज्रस्वाँठले दियो ? घाटमान्डुले दियो ? घाटमान्डुमा हामी सब समान छौं । हामी सब मात्र पात्र हौं । घाटमान्डुमा कोही पनि नायक/खलनायक या सहनायक हुँदैन । तिमीले यो कुरा मनन गर्नुपर्छ सुयोग भाइ ।’ आफूलाई त्यसरी मनन गर्न भनिएको कुरा सायद मिस्टर सुयोगवीरलाई मननयोग्य लागेन कि ! मन परेन कि ! मनासिब लागेन कि ! भन्यो :

–शास्त्री दाजु, सर्वप्रथम त मलाई सुयोग नभनी मिस्टर सुयोगवीर भनियोस् । दोस्रो कुरा, म तपैंहरूजस्तो लर्तरो खालको पात्र होइन । हेक्का राखियोस् । तेस्रो महत्त्वपूर्ण कुरा, म मदन प्राइजद्वारा सम्मानित उपन्यासको नायक हुँ । यस्तो सामान्य फ्याक्ट तपाईं सम्पूर्ण नासमझहरूले जरुर समझ गर्नुपर्ने कुरा हो । मदन प्राइज पाउने उपन्यासको पात्र केवल पात्र होइन, नायक हो । त्यसैले म नायक हुँ अर्थात् मिस्टर सुयोगवीर, द नायक ।

मिस्टर सुयोगवीर, द नायकको कुरा सुनी सुवेदार राईलाई खपी नसक्नु भएछ कि ! झोंक चलेछ कि ! मुख खोल्यो, ‘यसरी मदन पुरस्कारको फुर्ती नगर भाइ । पुरस्कार प्राप्त कृतिको पात्र हुँदैमा घाटमान्डुमा कोही नायक भइहाल्दैन । हामी सबै पात्र मात्र हौं । न बढी न घटी । नोबल प्राइज प्राप्त लेखक अर्नेस्ट होमिङवेको पुलित्जर प्राइज प्राप्त उपन्यास ‘द ओल्ड म्यान एन्ड द सी’ का पात्र सान्डियागो घाटमान्डुमै छन् । हेर त, सान्टियागो कति विनम्र र भद्र छन् । उनले समेत आफूलाई नायक भनेका छैनन् । तिमी जैरेचाहिँ जाबो मदन पुरस्कारको धक्कु लगाउँछौ । लाज, सरम छैन ? आफ्नो न सही, कमसेकम पुरस्कारको मानसम्मान, गरिमाको त ख्याल गर । अँत बरु भन, तिमीले अतिथिलाई कस्तो स्पेसल गिफ्ट दिन चाहेको जिकिर गर्दै थियो रे ?’

–अन्डरवेयर । सुयोगवीरले निन्याउरो मुख लगाउँदै भन्यो ।

'अतिथिलाई अन्डरवेयर !' – सुवेदारले व्यंग्य गर्‍यो । गज्जबको गिफ्ट दिने मनसुवा पो रै’छ ! अन्डरवेयर सन्डरवेयर होइन अतिथिलाई तिमी आफ्नो गलबन्दी दान गर । हुन्छ कि हुन्न ? सुयोगवीरले हुन्छ भन्यो ।

त्यसपछि पात्रहरूद्वारा दान गरिएका वस्त्रहरूलाई मैले एक एक गरी आफ्नो आङमा घुसारें । कोटचाहिँ ज्यानमा ज्यान गए अटेन । जुजुमानलाई फर्काइदिएँ । दुखी भयो । 

यस्तैमा हामीमाझ दुईजना नवागन्तुक आइपुगे । एकार्कालाई अंगालो मारेका थिए । दुवैले एकैपटक आफ्नो मुख खोल्दै मसित भन्न थाले : – हाम्रो नाम धनबहादुर बस्नेत । – दुवैको नाम धनबहादुर बस्नेत ?

– पक्क परी सोधें । 

– हो ।– एउटाले भन्यो ।– मचाहिँ ‘बसाइँ’ उपन्यासको पात्र । – मचाहिँ ‘लङ्गडाको साथी’ उपन्यासको पात्र – अर्कोले भन्यो ।

– तपाईं चाहिँ को हो कुन्नि ? तपाईंको नाम के हो कुन्नि ? कुन उपन्यासको पात्र पर्नुभो कुन्नि ? कुन्नि ! कुन्नि !! कुन्नि !!! म को थिएँ ? मेरो नाम के थियो ? म कुन उपन्यासको पात्र थिएँ ? कुन्नि ! कुन्नि !! कुन्नि !!!  

..............

एक अपरान्ह मैले आफूलाई प्रहरी चौकीमा लिएर गएँ । टेबलभरि अङ्गुरै अङ्गुरका झुप्पाहरू असरल्ल फिजिएका थिए । इन्स्पेक्टर अङ्गुरमान सिंह –  ‘अलिखित’ को औपन्यासिक पात्रले अङ्गुर खाँदै मसित विनम्रतापूर्वक भन्यो :  भन्नुस् के सेवा गरुँ ? सेवक हाजिर छ ।

– म को हुँ ?– मैले लाचारीका साथ भनें । मेरो जाँच पडताल गर्नुपर्‍यो । मेरो अनुसन्धान गर्नुपर्‍यो । मेरो परिचयको खोजतलास गर्नुपर्‍यो । 

– चिन्ताको कुनै बात छैन, अङ्गुरमानले आश्वासन दियो । लौ, दुई गेडा अङ्गुर लिनुस् र परेसानीलाई चपाइलिनुस् । तपाईंको परिचय ढुँडने जिम्मा मेरै उपर छोड्नुस् । ध्रुवचन्द्र गौतमकी कसम ! तपाईंको परिचय म जरुर ढुँडनेछु । 

ध्रुवचन्द्र गौतम ? म रनभुल्लमा परें । प्रहरी निरीक्षकले समेत कसम खाने यिनी कुन देउता रै’छन् ? मेरो जिज्ञासामा अङ्गुरमानले भन्यो, ‘ध्रुवचन्द्र गौतम उर्फ माई बाप ! म उनैको मानसपुत्र हुँ जनाब । बात कुछ समझमे आयो ? अब तपाईं जाइलिनुस् । तपाईंको खोजीकार्य जारी हुनेछ ।’ 

‍‍..................

पल्पसाले भनेको कुरा मनमा खेलाउँदै सुनसान फुटपाथमा एक सुरले हिँडिरहेको थिएँ । पल्पसाले एक दिन भनेकी थिई, ‘उपन्यासमा मरेका या मारिएका मात्र नभई आत्महत्या गरेका पात्रहरू पनि घाटमान्डुमा ज्युँदा, जीवित हुन्छन् । मेरा मानसपिता नारायण वाग्लेले उपन्यासमा मलाई मारिदिएको कुरा पाठकको हकमा शतप्रतिशत साँचो हो । किताबको पाना नम्बर एक सय छयासीमा म मरिसकेकी छु । जस्तो कि सकमबरीको मृत्यु पेज नम्बर चौसठ्ठीमा भएको छ । सुम्निमा किताबको पाना नम्बर चौरानब्बेमा मरिसकेकी छे । तर पात्र केवल पात्र मात्र होइनन् । उनीहरू लेखकका शाश्वत कल्पना हुन् । कल्पना मर्दैनन् । कल्पनालाई लेखक स्वयम्ले पनि मार्न सक्दैन । लेखक अस्तित्वबाट भौतिक रुपले नष्ट होला तर हामी पात्रहरू अजर अमर छौं ।’

भुइँमा एउटा सियो भेटें । धागोसहित सेतो । टिपें । सडकछेउको बेन्चको बसें । आङबाट कमिज उतारें । सानुमान तुलाधरले दान गरेको सेतो कमिजको काखी उध्रेको थियो । सियोले सिउन थालें । सिउने काम सकिनै लाग्दा सडकमा मेरै सामुन्ने एउटा बग्गी टक्क अडिन आइपुग्यो । चारवटा हट्टाकट्टा अरबी घोडाले ताने बग्गीको चालक सिटमा प्रेमललवा सदाझैं राजकीय शान–ओ– अन्दाजमा बिराजमान थियो । अभिवादन गर्‍यो : गुड इभनिङ मिस्टर स्ट्रेन्जर ! ऊ मलाई प्राय: मिस्टर स्ट्रेन्जर भनी सम्बोधन गर्छ । प्रेमललवा उर्फ ‘उलार’ को पात्र । निकै असल मनुवा । बिचरो ! सकमबरीलाई एकोहोरो प्रेम गर्छ ।

सकमबरी अर्थात् ‘शिरीषको फूल’की सकमबरी । बग्गीमा चढ्छु र ऊसितै बस्छु । सकमबरीको यादमा उसले कैयौं रात अनिद्रामा बिताएको छ । सकमबरीप्रतिको उसको मौन अनुराग देखी मलाई ऊप्रति दया आउँछ । घाटमान्डुको दक्षिणी भेगमा अवस्थित पागल बस्तीमा उसले मार्यासित मोहनी–मन्त्र सिकेको पनि व्यर्थै भएको छ । मार्याको टुनामुनाले सकमबरीमा कुनै असर परेको छैन । 

प्रेमललवालाई मैले भनेको थिएँ, ‘सकमबरीसित तिम्रो गोत्र मिल्दैन । राशि, ग्रह, नक्षत्र केही मिल्दैन । ऊ कहाँ अस्तित्ववादी उपन्यासकी पात्र, अनि तिमीचाहिँ सामाजिक यथार्थवादी उपन्यासको पात्र ! तिमीहरूको प्रेम कसरी सम्भव छ प्रेमललवा ?’ प्रेमललवाले मसित दृढपूर्वक यस्तो भनेको थियो : प्रेमले अस्तित्ववाद र यथार्थवाद केही पनि भन्दैन मिस्टर स्ट्रेन्जर । प्रेम कुनै पनि वादभन्दा माथि हुन्छ । 

बग्गी एकनासले सडकमा गुड्दै थियो । उसले खल्तीबाट एउटा कागज निकाल्दै मलाई दियो र भन्यो, ‘एउटा चिठी लेख्या छु सकमबरीलाई । तिमीले उसलाई दिनुपर्‍यो । तिमीले पनि पढे हुन्छ ।’ चिठी समातें । खोलेर हेरें । लेखिएको थियो : प्रिय सकमबरी ! आई लभ यु ! तिम्रो प्रेमललवा ! चिठीमा जम्मा सात शब्द थिए । जाबो यत्ति कुरा त उसले सकमबरीलाई मुखैले पनि भने हुन्थ्यो नि ! उसलाई सो कुरा भने पनि । तर प्रेमललवाले भन्यो, ‘भनेको कुरा बतासमा बिलाइजान्छ । लेखेको कुरा मनमा गढेर बस्छ ।’

बग्गी स्ट्यान्डमा सकमबरी उभिएकी थिई । साँझको यो समय ऊ प्राय: प्रेमललवाको बग्गी चढी कहिले चर्च, कहिले गुम्बा जाने गर्थी । प्रेमललवाले बग्गी रोक्यो । सकमबरी नीलो पहिरनमा थिई । उसको एउटा हातमा चोयाको एउटा सानो डालो थियो जहाँ तपाईं शिरीषका नीलाम्मे फूलका स–साना चोक्टाहरू देख्न सक्नुहुन्थ्यो । सकमबरी बग्गीमा चढेपछि सुनसान सडकमा हामी घोडाका टापहरूले निकाल्ने ट्यापे–आवाज सुन्दै अघि बढ्यौं । हातमा भएको चिठी सकमबरीलाई दिनुपर्‍यो भनी सोचेको के मात्र थिएँ पछाडिबाट उसैले मलाई औंलाले कोट्याई । पछाडि फर्केर आँखैको भाकाले– किन कोट्याएकी– भनी सोधेपछि सकमबरीको फूलको डालोमा हात घुसाई र फूलहरूभित्रबाट एउटा छोडिएको कागजको पाना निकाली । अनि आँखैको भाकामा– यो कागज प्रेमललवालाई दिनू भन्ने संकेत गरी । कागजलाई हातमा लिएँ । प्रेमलाई कागज हस्ते गर्नुअघि त्यसलाई हेरें । कागजमा नीलो मसीले लेखिएका नीलाम्मे अक्षरका नीला दानाहरू यस्ता थिए : ।। प्रिय प्रेमललवा ! आई लभ यु । तिम्री सकमबरी ।।

---

पल्पसा क्याफेको कालो शून्यता कहालीलाग्दो थियो । कालो शून्यता किन भनिएको हो भने क्याफेभित्रका सबै ग्राहकहरू कालो पोसाकमा थिए । बार्दली, बुइँगल, बाल्कोनी सबै ठाउँ कालो पोसाक लगाएका मानिसहरूद्वारा ओगटिएका थिए । कालो भीडमा अपवादको रुपमा केवल एउटी मात्र बैजनी युवती थिई । अरूभन्दा बेग्लै, अलग । उसलाई अक्सर म क्याफेमा देख्ने गर्थें । एउटा बैजनी स्कार्फले सदा उसको कैलो टाउको छोपिएको हुन्थ्यो जो गलाको गाँठोमा दुई फुर्कासहित बाँधिएर तुर्लुङ्ग झुन्डिन्थ्यो । बैजनी युवती वास्तवमा को थिई ?

‘खै कुन्नि !’ पल्पसाले मलाई भनेकी थिई, ‘जो भए पनि अद्भुत छे, कसो ?’ बैजनी युवती सदाझैं बुइँगलको एउटा कुनामा सिङ्गो टेबल ओगटी बसेकी थिई । कफी पिउँदै । उसैको एक झलक पाउनको लागि मात्र भए पनि म प्राय: पल्पसा क्याफे गइरहन्थें । सधैं बस्ने टेबल नम्बर १३ मा ब्ल्याक कफी पिउँदै म उसलाई नियालिरहेको थिएँ । क्याफेको द्वारबाट काला पोसाकधारी (आ)गन्तुकहरू हातमा पुष्पहार बोकी भित्र आउँदै थिए र केही एक्कादुक्का (जा)गन्तुकहरू खाली हात बाहिर जाँदै थिए । पल्पसासित सोधें : पल्पसा, तिम्रो क्याफे आज किन यति शोकमग्न छ ? यी काला पोसाक लगाएका मनुष्यहरू को हुन् ?

पल्पसाले भनी, ‘गाब्रियल गार्सिया मार्खेज नामक लेखक भन्यो रे ! यी सब शोकमग्न मानिसहरू मार्खेजका पात्रहरू हुन् । आफ्नो लेखकको मृत्युमा सामूहिक शोक मनाउन यिनीहरू मेरो क्याफेमा भेला भएका हुन् । सेमिनार हलमा प्रार्थना सभाको कार्यक्रम पनि छ जहाँ यिनीहरू सबै मिली मार्खेजको आत्माको चिरशान्तिको कामना गर्नेछन् । अहिलेलाई भने यिनीहरू फ्लोरेन्टिनो अरिजालाई पर्खिरहेका छन् । ऊ आएपछि कार्यक्रम सुरु हुनेछ ।’

‘को हो फ्लोरेन्टिनो ?’ सोधें । ‘लभ इन द टाइम अफ कलेरा’ को पात्र हो । फ्लोरेन्टिनो नै आजको श्रद्धाञ्जलि कार्यक्रमको प्रमुख वक्ता हो । ‘बैजनी युवती पनि मार्खेजको पात्र हो कि !’ मेरो जिज्ञासा । ‘होइन होला !’ पल्पसाले भनी । मार्खेजको पात्र भए त बैजनी स्कार्फ किन लगाउँदी हो र ! कालै स्कार्फ लगाउँदी होली कि ! कि कसो ?

यस्तैमा बैजनी युवती उठी । बुइँगलबाट तल ओर्ली । सरासर द्वारबाट बेपत्ता भई । म पनि बाहिरिएँ । यताउति हेरें । ऊ केही पर महाकवि लक्ष्मीप्रसाद देवकोटाको दाडिमको रूखनिर पुगिसकेकी थिई । मैले आज उसलाई पिछा गर्ने अठोट गरें । दाडिमको रुखछेउ एउटा मन्द गतिको ट्राम आएर रोकियो । बैजनी युवती चढी ।

मचाहिँ केमा पो चढुँ ? आपत् आइलाग्नै लाग्या बखत एउटा आशाको पहेंलो स्कुटी देखा पर्‍यो । स्कुटीवालालाई मैले चिनिहालें । ऊ शिवनारायण थियो ‘एक चिहान’को पात्र लिफ्ट माग्ने हेतु उसलाई रोकें र भनें :

– शिवजी ! कतै नयाँ चिहान खन्न जान लाग्या त होइन नि ! ‘होइन होइन,’ उसले भन्यो, ‘यसो हावा खान निस्केको हुँ । तपाईंलाई कतै छोडिदिनुपर्ने हो कि !’ शिवनारायणलाई ट्राम पछ्याउन भनें । मन्द गतिको ट्रामलाई धीमा गतिको स्कुटीले पछ्याउन थाल्यो । दुवैको गति कस्तो उदेकपूर्ण एवं दिक्कलाग्दो किसिमले अगतिलो !

एउटा सुनसान ट्राम स्टेसनमा त्यो सर्पिलो बाहन रोकियो । बैजनी युवती ओर्ली । चकमन्न गल्लीमा सडक बत्तीको प्रकाशमा बैजनी छायालाई पछ्याउँदै गएँ । त्यो छाया एउटा बंगलाभित्र सुलुत्त छिर्‍यो । केही निमेषको अन्तरालमा म पनि लुसुक्क छिरें । कोठाको बैजनी प्रकाशले केही बेर आँखा तिरमिर गर्‍यो । पूरै घर सुनसान थियो । 

छालाको सोफामा बसें । कफी टेबलमा जल प्याला थियो । घटघट पिएँ । जल पिउँदै गर्दा मेरो नजर हठात् बैजनी वालपेपरयुक्त भित्तामा ठोक्कियो । भित्तामा एउटा पेन्टिङ झुन्डिएको थियो । उक्त तैल–चित्र एउटा पोर्टे्रट थियो । त्यो पोर्टे्रट बैजनी युवतीको थियो । पेन्टिङबाट ऊ मलाई साझै हेरिरहेकी थिई । म झसङ्ग भएँ । खङ्रङ्ग भएँ । भित्तातिर बढें । पेन्टिङकी युवती दुरुस्त थिई । उसको टाउकोलाई बैजनी स्कार्फले बाँधेको थियो । पेन्टिङको मुनि सुनौलो अक्षरमा लेखिएको थियो : म्याडम बोभारी । ‘तपाईंलाई स्वागत छ’, कुनै स्त्रैण आवाजले झस्कन्छु । 

पछाडि फर्कन्छु । मेरा सामु ठिङ्ग उभिएकी थिई एउटी मुडुलो टाउको भएकी युवती । उसले बैजनी रङको कुर्ता सल्वार लगाएकी थिई । उसको हातमा चाँदीको किस्ती थियो । किस्तीमा दुई मग कुन्नि के थियो ।  ‘आउनुस् कफी पिऔं,’ उसले भनी । सोफामा आमुन्नेसामुन्ने भईकन बसेपछि उसले मकन भनी :

– मलाई चिन्नुभएन जस्तो छ ! म ‘पल्लो घरको झ्याल’ उपन्यासकी मिसरी क्या त ! कफी चाखी हेर्नुस् त ! कस्तो लाग्छ ? मैले चिनीको सट्टा मिश्री मिसाएकी छु । म्याडम बोभारीलाई मिश्री राखेको कफी खुप मन पर्छ । वास्तवमा यो घर म्याडम बोभारीको हो । म यहाँको केयरटेकर हुँ । कफी पिएँ । मिसरीले बनाएको मिश्रीयुक्त कफी स्वादिलो लाग्यो । यस्तैमा मेरो नम्बर अनायास पुन: पेन्टिङमा गई अल्झियो ।

कस्तो आश्चर्य ? उक्त तैलचित्रको मुहारमा अघिको कुनै दिवङ्गत भाव थिएन । यस बेला म्याडम बोभारी हेर्न त मलाई नै हेरिरहेकी थिई तर हल्का फिस्स मुस्कुराउँदै । अधरबाट फिस्स चिप्लिएको अर्ध मुस्कानमा बैजनी छाया पोतिएको थियो ।  मिसरीले भनी, ‘म्याडम बोभारीको फेसियल एक्स्प्रेसन परिवर्तन भइरहन्छ । कहिले मुस्कुराउनुहुन्छ, कहिले छड्के हेर्नुहुन्छ । कहिले उदास/उजाड हुनुहुन्छ त कहिले आँसु चुहाउनुहुन्छ । कहिलेकाहीं भने मध्यरातमा बिनसित्ती जोडजोडले हाँस्नुहुन्छ । पेन्टिङको चित्रले यस्तो विचित्र क्रियाकलाप गर्ने कुरा तपाईंले यसअघि सायद सुन्नुभएको थिएन । हेर्नुभएको थिएन । यो घरमा तपाईंले अवश्य पनि केही काल बिताउनुहुने नै छ । सब कुरा थाहा पाइहाल्नुहुने नै छ । अनि अर्को कुरा, कहिलेकाहीं त म्याडम बोभारी पेन्टिङबाट गायब भइदिनुहुन्छ ।’

मिसरी यस्तै भन्दै थिई । मेरो मुटु भने जोडजोडले धड्किरहेको थियो । आठ तालु सुक्दै थियो । जे म सुन्दै र हेर्दै थिएँ ती लौकिक या अलौकिक थिए ? या परलौकिक थिए ? मेरा सम्पूर्ण इन्द्रिय, होस, बुद्धि, भाव, संवेदना, अनुभूति सबका सब (शवका शव ?) वस्तुत: आकारमा मनमस्तिष्कमा दिशाहीन फनफनी घुमिरहेका थिए । 

यति बेला पेन्टिङबाट म्याडम बोभारी मलाई कुटिल मुस्कानका साथ क्वारक्वार्ती हेरिरहेकी थिई । त्यो भुत्यौली वा किचकन्यौली दृष्टि मेरो आँखाको पुतली नष्ट गर्न आतुर एवं व्यग्र थियो । मिसरीचाहिँ एकनासले भन्दै थिई :

– म्याडम बोभारी कहिलेकाहीं पेन्टिङबाट ओर्लनुहुन्छ । ट्राम चढ्नुहुन्छ र पल्पसा क्याफेको बुइँगलमा बसी कफी पिउनुहुन्छ । तपाईं पन कफी पिउनुस् नत्र कफी मुर्झाइजान्छ !

कफी मुर्झाइजान्छ ? उफ ऽऽऽ त्यो कस्तो कफी थियो जो सकमबरीको नीलो फूलको चोक्टाझैं मुर्झाइजान्थ्यो ? यस्तैमा बैजनी बत्ती झ्याप्प निभ्छ र म ब्ल्याक–आउट हुन्छु । (कान्तिपुरबाट)

४ बर्ष अगाडि

प्रतिक्रिया