‘राठीकोल’ को ब्राण्ड एम्बासडर राजेश हमाल

१ हप्ता अगाडि

काठमाडौं - नेपाली फिल्मका महानायक राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’ को ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।मंगलवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट समारोहबीच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी तथा अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

हमालले अबको एक वर्षसम्म ‘राठीकोल’ का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन् । हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठीले राठी ब्राण्डले नेपाली फिल्ममा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए । उनले हमाललाई ब्राण्ड एम्बासडरको रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली फिल्म र समाजको लागि महानायकको प्रतिबद्धता र राठिकोलको उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे।

अध्यक्ष राठीले राठीकोल उत्पादन गुणस्तरको हिसाबमा पनि पहिलो र उत्पादनको हिसाबमा पनि पहिलो रहेको बताए । ‘आज यो उत्पादनलाई लाखौँ कालिगडहरूले विश्वास गरेर प्रयोग गरिरहेका छन् भने हजारौँ बिक्रेताहरूले बेचिरहेका छन् । विगत ३५ वर्षदेखि निरन्तर प्रयोग हुनु भनेको सानो कुरा होइन । विदेशी कम्पनीहरूको उत्पादनले लिएको बजारको प्रतिस्पर्धामा हामीले राठीकोललाई स्थापित गर्न सक्षम भएका छौँ’, उनले भने– ‘राजेश हमाल पनि जसरी दशकौँदेखि नेपाली फिल्ममा पहिलो नम्बरको अभिनेता हुनुहुन्छ । उहाँ पनि एक नम्बर, हामी पनि एक नम्बर। हाम्रो काम नै जोड्ने हो । हामीले हमालजीलाई यो ब्रान्डसँग जोडेर यसबारेमा थाहा नपाउनु भएका आम मानिसहरूलाई पनि जानकारी दिन एम्बासडर बनाएका छौँ ।’

उनले राठीकोल नेपालको हिमालदेखि तराईका सबै मौसम र जुनसुकै तापक्रममा उपयुक्त हुने जानकारी दिए । अभिनेता हमालले राठीकोललाई नेशनल प्राइडको रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए । उनले कैयन विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बासडर बन्न राजी भएको बताए । हमालले भने, ‘निकै वर्ष पहिले राठीकोलको चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ ।’

राठीकोलसँगको सहकार्यबारे बोल्दै हमालले भने– ‘यो बिन्दुमा आएर यो ब्राण्डसँग जोडिन पाउँदा निकै खुसी लागेको छ । कुनै एउटा उत्पादनले जुन विश्वास उपभोक्तामा दिलाएर बसेको छ, त्यो ब्राण्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो । मैले मात्र यो ब्राण्डलाई खोजेको छैन, यो ब्रान्डले पनि मलाई खोजेको छ। म आभारी छु ।’ राठीकोलका सिइओ योगेश राठीले हमालको फिल्म यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए ।

राठी ग्रुपको इतिहास १३० वर्ष पुरानो छ र सामान्यतया स्विच, केबल, बल्ब, हार्डवेयर र राठीकोलका लागि चिनिँदै आएको छ । ‘राठीकोल राठी ग्रुपको एक प्रमुख उत्पादन मध्ये एक हो, जसले गुणस्तरीय चिपकने पदार्थ (एढेसिभ) उत्पादनका रूपमा आफूलाई स्थापित गरेको छ, यो उत्पादन मुख्यतया फर्निचर बनाउने काममा प्रयोग हुने काठको कामका लागि प्रयोग हुन्छ । साथै अन्य फ्रेमिङका कामहरूमा पनि राठीकोल प्रयोग गर्न सकिन्छ । यो विगत ३५ वर्ष देखि उत्पादन भई बजारमा आइरहेको छ । नेपालमा सबैभन्दा ठुलो चिपकने पदार्थको कारखानाको रूपमा राठीकोलको कारखाना रहेको छ।

यसको मुख्य नारा ‘टाँस्छ मज्जाले टाँस्छ’ रहेको छ । राठीकोल उत्पादनहरू प्रिमियम उड एढेसिभ, इकोनोमिकल उड एढेसिभ, साइनोएक्रिलेट(सुपर ग्लु), क्राफ्ट एढेसिभ (बिषादीरहित), पारदर्शी एढेसिभ, इन्ड्रस्ट्रियल एढेसिभ, सिलिकन एसेटोक्सी क्यान र पाउच (न्युट्रल) तथा मास्किङ टेप, डक्ट टेप, ईभिए फोम टेप, कार्टुन टेप, डबल साइड टेप आदि हुन् । यी लगायतका उत्पादनहरूले विदेशी कम्पनीहरूले उत्पादन गरेका ब्रान्डहरूको आयात कम गराई देशको अर्थतन्त्रमा राठी समूहले उल्लेख्य योगदान पुर्याएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया