निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान

१ हप्ता अगाडि

काठमाडौँ- निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई बुधबार अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकाको मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म आयोजना हुने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन निर्देशक सुब्बा र अभिनेता राई त्यसतर्फ प्रस्थान गरेका हुन् । महोत्सवमा उनीहरुको सहकार्यमा बनेको ‘गाउँ आएको बाटो’ ओपनिङ स्क्रिनिङ हुँदै छ । महोत्सवको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुनेछन्। मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा जुन २० ९बिहिबार० मा ‘गाउँ आएको बाटो’ प्रदर्शन गरिने भएको छ ।

चलचित्रमा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ । राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गर्छ । महोत्सवमा समापन चलचित्रको रुपमा ‘द रेड सुटकेस’ प्रदर्शन हुनेछ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन् । राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु–ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’ पनि महोत्सवमा प्रदर्शन हुनेछन् ।

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने भएको छ । महोत्सव उदघाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीले जनाएको छ ।चार दिनसम्म चल्ने महोत्सवका चलचित्र भने एएफआई सिल्भर थिएटर र ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुनेछ । महोत्सवको दौरानमा फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि सञ्चालन हुने जनाइएको छ । मेरिल्यान्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुन लागेको हो । सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया