गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेटको फाइनलमा कास्की र स्याङ्जा भिड्ने

१ हप्ता अगाडि

काठमाडौँ-  गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेटको फाइनलमा कास्की र स्याङ्जा भिड्ने भएका छन् । 

स्याङ्जा समूह ‘बी’ तर्फ अपराजित रहँदै ६ अंक बटुलेर फाइनलमा स्थान पक्का गरेको हो । कास्कीले समूह ‘ए’बाट फाइनलमा स्थान बनाएको थियो । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बलियो मानिएको नवलपुरलाई २ विकेटले पराजित गरी स्याङ्जा फाइनल प्रवेश गरेको हो । टस जितेर ब्याटिङका लागि मैदानमा उत्रिएको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १६.४ ओभरमा ७५ रन मात्रै बनाउन सक्यो ।

खेलमा नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए भने कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके । त्यस्तै सुदिप अर्यालले १२ रनको योगदान दिए । स्याङ्जाका लागि प्लेयर अफ दि म्याच समेत रहेका सन्दीप खत्री क्षेत्रीले २।४ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए भने अंकित न्यौपानेले ३ ओभरमा १३ रन खर्चिएर २ विकेट हात पारे ।

यता जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको स्याङ्जालाई जितका लागि अन्तिम ओभर कुर्नु पर्‍यो । स्याङजाले १६।२ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाउँदै लक्ष्य भेट्टायो । स्याङ्जाका लागि अनिष ताम्राकारले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदीप पाण्डेले नट आउट रहँदै ११ रन बनाए । नवलपुरका लागि कमल परियारले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिँदा दीपक डुम्रेले ३ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट लिए । 

प्रतियोगितामा विजेता टिमले १ लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछ । महिलातर्फको प्रतियोगिता असार ७ देखि १० गतेसम्म सञ्चालन हुनेछ ।

१ हप्ता अगाडि

प्रतिक्रिया