नदी धमिलिने बित्तिकै मेलम्ची खानेपानी  बन्द हुने

१ हप्ता अगाडि

काठमाडौँ - मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकबाट काठमाडौँ ल्याइएको मेलम्ची खानेपानी नदी धमिलिने बित्तिकै बन्द हुने भएको छ । 

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बर्सात धेरै भएर बाढी आउने अवस्थामा काठमाडौँ ल्याइएको खानेपानी बन्द हुने बताए ।  हाल आयोजनास्थल र त्यसभन्दा माथिको भागमा कर्मचारी राखेर २४ सै घण्टा बाढीको अवस्था हेरिरहेको र क्षति पुर्‍याउने खालको बाढी आउने अवस्थामा तत्काल पानी बन्द हुने उल्लेख गरे  । 

लामिछानेले भने– ‘मेलम्ची आयोजनास्थलमा काठमाडौँतर्फ पानी ल्याउने मुहानसम्मको बाटो बाढीले बगाएको छ । मुहानस्थलमा पानीको मात्रा पनि बढिरहेको छ । केही गरेर माथिल्लो भागबाट बाढी आएर धमिलोपना बढ्यो भने जुनसुकै बेला पनि बन्द गर्नुपर्ने हुनसक्छ । यो दिनदेखि पानी बन्द हुन्छ भनेर मिति भने तोकेका छैनौँ । तर हामी आयोजनास्थलको नजिकै हाई अलर्टमा बसेका छौँ । हामीले २४ सै घण्टा मुहान क्षेत्रमा बाढीको निरीक्षणका लागि कर्मचारीहरू खटाइरहेका छौँ ।’ खानेपानी ल्याउने सुरुङको सुरक्षाका लागि बाढीको अवस्था हेरेर जुनसुकै बेला बन्द गरिने उनको भनाई छ ।

उनले काठमाडौँमा हाल दैनिक १७ करोड लिटर हाराहारी पानी आइरहेको बताए । बाढीको लेदो पसेको अवस्थामा सुरुङमा खतरा उत्पन्न हुने भएकोले जुनसुकै बेला पानी बन्द हुनसक्ने बताए । जहिलेसम्म पानी पठाउन सकिन्छ त्यसका लागि खटिइरहेको र कर्मचारी परिचालन गरिरहेको जानकारी दिए ।  

आयोजनाको गेट बन्द गर्नुपर्ने अवस्थामा ४ जना कर्मचारीलाई तयारी अवस्थामा राखिएको र आयोजनाभन्दा माथिको भागमा बाढी आएको सूचना दिनमा लागि पनि मान्छे राखिएको लामिछानेले बताए । पानी पठाउन बन्द भएपछि मनसुन रोकिएसँगै आयोजना स्थलमा भरिने ग्रेगान सफा गरेर काठमाडौँमा पानी पठाउने बताए । अहिले सुरुङको मुखमा फलामका ठुला पाता राखेर सुरुङभित्र बाढीले ल्याएका ग्रेगान प्रवेश रोक्न सुरक्षा गर्ने काम भइरहेको उल्लेख गरे । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया