खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री

६ दिन अगाडि

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गर्दै आएको बताएका छन्  ।

‘साहना प्रधान प्रतिष्ठान’द्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले समग्र खेल क्षेत्रको विकास र खेलाडीमा उत्साह तथा प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताए । ‘युवा तथा खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु’, उनले भने, ‘खेलाडीको वृत्तिविकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत अर्थतन्त्र तथा कूटनीतिमा हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु ।’नेपालको भू–वनोट र संस्कृतिका दृष्टिले पनि भलिबल अत्यन्तै सम्भावनायुक्त खेल विधा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गरे ।

उनले उक्त ऐतिहासिक घोषणाले नेपालका भलिबल खेलाडीलाई उत्प्रेरणा मिलेको विश्वास व्यक्त गरे । आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिइने बताए ।

साहना प्रधान नेपाली वामपन्थी आन्दोलनको एक शिखर व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पञ्चायती व्यवस्थाविरूद्ध कठोर सङ्घर्ष गर्दै २०४६ सालको जनआन्दोलनसम्म आउँदा उनले संयुक्त वाममोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘वैचारिक र साङ्गठनिक भूमिकाको इतिहासमा प्रधान सधैं प्रेरणादायी हुनुहुन्छ, रहनुहुन्छ ।’ राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आफूले हेर्ने गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले महत्वपूर्ण प्रतियोगिताअघि प्रतिस्पर्धी खेलाडीलाई भेटेर हौसला प्रदान गर्ने र विजयी खेलाडीलाई पुरस्कृत गर्दै आएको बताए ।

६ दिन अगाडि

प्रतिक्रिया