लागु औषधमुक्त समाज निर्माण गर्न तीनै तहका सरकारले जनचेतना फैलाउनुपर्ने: प्रदेश कानुनमन्त्री श्रेष्ठ

३ दिन अगाडि

काठमाडौँ - बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले लागु औषधमुक्त समाज निर्माणका लागि तीनै तहका सरकारले जनचेतना फैलाउनुपर्ने बताएका छन् ।

बुधबार लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लागु औषधमुक्त परिवार र समाज बनाउनुपर्ने बताएका हुन् । 

उनले लागु औषध मुक्त परिवार र समाज निर्माणका लागि परिवार र समाज नै सबैभन्दा जिम्मेवार र जबाफदेही बन्नुपर्ने बताए । उनले लागु औषध मुक्त समाज बनाउनका लागि तीनै तहको सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए । स्थानीय तहले अझ बढी जिम्मेवारीपूर्वक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०८१र०८२ को लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको पनि जानकारी दिए ।

मन्त्री श्रेष्ठले विद्यालयको पाठ्यक्रममा नै समावेश गरी लागु औषध प्रयोगबाट हुने असरको बारेमा विद्यार्थीहरूलाई शिक्षा दिनुपर्ने बताए । उनले विद्यालय वरिपरि मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउनुपर्ने बताए । उनले लागु औषध कारोबारीलाई कानुनको कठघरामा उभ्याउनुपर्नेमा पनि जोड दिए । त्यस्तै, लागु औषध उत्पादन, बिक्री वितरण तथा सेवनको दृष्टिकोणले उच्च जोखिममा रहेका स्थानको पहिचानको लागि नक्साङ्कन गर्नुपर्ने उनको भनाई छ । 

मन्त्री श्रेष्ठले लागु औषध ओसारपसारलाई रोक्न सीमानामा सघन रूपमा चेकजाँच, निगरानी र अपरेसनलाई तीव्रता दिनुपर्ने बताए । 

३ दिन अगाडि

प्रतिक्रिया