महामन्त्री ढकालको प्रतिवेदनले रास्वपामा भूइँचालो

३ दिन अगाडि

  
काठमाडौं – छोटो समयमा लोकप्रियताको शिखर चढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले विवाद र आन्तरिक द्वन्द्वमा फसेको छ । सन्दर्भ महामन्त्री डा. मुकुल ढकालको देश दौडाहा र उनको प्रतिवेदन बनेको छ ।   इलाम–२ को उपनिर्वाचनमा अपेक्षाविपरीत जमानत जफत भएपछि झस्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई ‘समीक्षा यात्रा’मा पठाएको थियो। यात्राको उद्देश्य थियो, पार्टीका विषयमा जनस्तरमा पुगेर धारणा लिने। सोहीअनुसार जेठ ६ गते यात्रामा निस्किएका ढकाल ३८ जिल्लाको यात्रा गरी २ हजारभन्दा बढी व्यक्तिसँग भेटेर असार ५ गते काठमाडौं फर्किए। लगत्तै उनले रास्वपाको ‘घन्टी’मा ‘कालो बादल मडारिएको’ भन्दै चिन्ता व्यक्त गरेका थिए।

रास्वपाको स्थापना दिवस (असार ७ गते) मा फेसबुकमा नै महामन्त्री ढकालले ‘पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो भन्ने गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौं’ भनेर लेखेका थिए। पार्टी जोगाउन, जनताको आशा जोगाउन, उच्च सचेतनासहित ‘केही बोल्ड निर्णय’ लिएर जानुपर्ने उनले औंल्याएका थिए।

 देश दौडाहाका क्रममा उनले प्राप्त गरेका सुझाव र अनुभव सहितको प्रतिवेदन उनले सभापति रवि लामिछानेलाई बुझाइसकेका छन्। उनको प्रतिवेदन रास्वपाका ‘चिन्तैचिन्ताको पन्तुरो’ रहेको तथ्य लगभग खुलिसकेको छ। रास्वपाले लिएको पछिल्लो राजनीतिक बाटो, सत्तारोहण, मन्त्रीहरूको अपेक्षाकृतभन्दा बाहिरको प्रदर्शन, सभापति लामिछानेका एकपछि अर्का विवादका शृंखलाले जनस्तरमा पार्टीप्रति वितृष्णा बढ्दै गएको तथ्य प्रतिवेदनले बोलेको महामन्त्री ढकालको आशयबाट बुझिन्छ। प्रतिवेदन बुझाइसकेपछि पत्रकारसँग कुरा गर्दै महामन्त्री ढकालले अझै खरो भाषामा पार्टीको अवस्था चित्रण गरेका छन्।


महामन्त्री ढकाल यात्रा सकेर काठमाडौं पुग्दा उनले सार्वजनिक गरेका अभिव्यक्तिले सभापति लामिछाने र उनीनिकट समूह चिढिएको स्रोत बताउँछ। उक्त समूहले ढकालको प्रतिवेदनलाई विवादित दस्ताबेजका रूपमा लिएको छ।

यात्राबाट फर्किएपछि महामन्त्री ढकालले सुनाएको समीक्षाअनुसारको प्रतिवेदन तयार नगर्न दबाबसमेत सिर्जना भएको स्रोतले बतायो । जसमा २०८४ सालमा एकल बहुमत ल्याउने दाबीविपरीत जनमत गइरहेको रास्वपा आफैले स्विकार्ने विषय थियो। यस्तै सत्ता गठबन्धनमा पर्न सक्ने सम्भावित असरका विषय पनि समेटिएकाले सभापति लामिछानेले ती विषय रोक्न संकेत गरेका थिए।

तर महामन्त्री ढकालले ३३ पेजको प्रतिवेदन तयार पारे। सभापति लामिछाने र उनी निकट व्यक्तिको चाहनाविपरीत प्रतिवेदन तयार पारेकैले उनले ‘महामन्त्री पद गए पनि पाण्डवको सहदेव नबन्ने’ टिप्पणी गरेको स्रोतको दाबी छ।

पार्टी सभापति लामिछानेलगायत नेताहरूले नचाहेको विषयसहित महामन्त्री ढकालले प्रतिवेदन बुझाएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। झन् महामन्त्री ढकालले नै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएपछि लामिछानेनिकट नेताहरू आक्रोशित बनेका छन्।

ढकालको शैलीप्रति  सहमहामन्त्री कविन्द्र बुर्लाकोटी खरो विरोधमा उत्रिएका छन् ।  प्रतिवेदन सार्वजनिक गर्ने विषयमा  बुर्लाकोटीको तिखो असहमति थियो ।  उनले सभापति लामिछानेलाई छलफल गर्नुपर्ने महसुस भए बैठकमा ल्याउने र नभए आवश्यक छैन भन्ने जवाफ दिए पुग्ने बताएका छन् । यस्तो अवस्थामा पनि महामन्त्री ढकालले आधा मिडियामा बोलिसकेको र आधा केही दिनमा सार्वजनिक गरिहाल्ने बताएका छन्।

महामन्त्री ढकालको प्रतिवेदनको विपक्षमा सभापति लामिछानेनिकट रहेका उपसभापति डोरप्रसाद अर्याल, सहमहामन्त्री बुर्लाकोटीलगायत नेताहरू छन् भने अर्का उपसभापति डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, मन्त्रीहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सांसदहरू सोबिता गौतम, मनीष झालगायत प्रतिवेदनमाथि छलफल हुनुपर्ने पक्षमा रहेको स्रोत बताउँछ।

यही विषयमा महामन्त्री ढकाललाई पदबाट हटाउनेसम्मका चर्चासमेत भइरहेका छन् । केन्द्रीय सदस्य गणेश कार्कीले जिम्मेवारीबाट हटाउनेसम्मको काम हुन्छ भन्ने आफूलाई नलागेको बताउँछन्। ‘पार्टी विधिसम्मत चलेन भनेर त मैले भन्दै आएकै छु। आज महामन्त्री पनि थपिनुभयो। यत्तिले जिम्मेवारीबाट हटाइन्छ भन्ने लाग्दैन,’ उनले भने, ‘तर उनले जे प्रश्न पार्टीका अन्य नेतासमक्ष उठाउनुभयो, त्यसको धेरैजसो दोष उहाँलाई पनि जान्छ । हिजो उहाँ पनि सभापतिले भनेअनुसार नै आफ्नै किसिमले पार्टीलाई चलाउन खोज्ने व्यक्ति नै हो । उहाँहरूकै कारण अहिले पार्टी यो अवस्थामा पुगेको हो।’ 

३ दिन अगाडि

प्रतिक्रिया