कर्णालीमा ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ सुरु

३ दिन अगाडि

काठमाडौँ -  कर्णालीमा ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ सुरु भएको छ । प्रदेशको ‘मौलिक लोक, कला, संस्कृतिको संरक्षण, सम्बद्धन र प्रवर्द्धन’ गर्ने उद्देश्यसहित प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्मेलन सुरु भएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशको आयोजनामा सुरु भएको सम्मेलन शुक्रवार र शनिवार गरी दुई दिनसम्म चल्ने छ । सम्मलेको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुव गौतमले गरेका छन् । पहिलो पटक हुन लागेको उक्त कार्यक्रममा कर्णालीको लोक, साहित्य र संस्कृतिको बारेमा वृहत् रूपमा बहस गरिने छ । त्यसका लागि कर्णालीभित्रका कलाकार, संस्कृतविद् तथा लेखकहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा लोप हुन लागेका कर्णालीको संस्कृति र मौलिक नाच हुड्के, मागल, मारुनीदेखि विभिन्न मौलिक कला र संस्कृतिको जगेनार्थ उक्त कार्यक्रम गरिएको छ । सम्मेलन मार्फत कर्णालीको सभ्यता र संस्कृतिका विभिन्न विधामा रहेर बहस समेत हुने प्रतिष्ठानकी प्रदेश अध्यक्ष हरिमाया कार्कीले जानकारी दिइन् । उनका अनुसार ‘प्राकृति नेपाली भाष र कर्णाली सभ्यता’ सत्रमा डा. जीवेन्द्र देव गिरी, डा. महेन्द्र कुमार मल्ल, पण्डित तिलक रिजाल, खडानन्द चौलागाईँले बहस गर्नेछन् भने हेमन्त भुषालको कौर नृत्य रहने छन् ।

मोहन परियारले हुड्के नाच प्रस्तुत गर्नेछन् भने ‘कर्णालीको संस्कृति नेपालमा र नेपालको संस्कृति विश्वमा’ शीर्षकमा जोगेन्द्र केसी, रिता थापा मगर, वरिष्ठ कलाकार प्रेमदेव गिरी र कृष्णराज धमलाले बहस गर्नेछन् । वरिष्ठ कलालकार गंगा केसी, कुलमान नेपाली, भीमबहादुर कार्कीको कथा वाचन रहेको छ भने ‘कर्णालीको संस्कृति कति छ र कति छैन’ शीर्षकमा लेखक ओम रिजाल, मोतिराज बम र बसन्ती शाहीले बहस गर्ने छन् ।


 

३ दिन अगाडि

प्रतिक्रिया