असार १५ :दही चिउरा खाने दिन

यस दिन मानिसहरू दहि र चिउरामा केरा र आँप पनि मिसाएर खान्छन्। गाउँघरमा पनि सबैले घर घरमा आफैँले दहि जमाएर खान्छन्। शहरी क्षेत्रमा कसै कसैले आफैं जमाए पनि धेरै जसोले भने किनेरै खाने चलन छ। आजभोलि यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरू गरेर पनि यसको महत्व बढाइएको छ।

२ दिन अगाडि

काठमाडाैैं- नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ। यो दिन परापूर्वकालदेखि नै दही(चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरूवाती दिनको रुपमा लिइन्छ। यस दिनलाई विगत २० वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ। यस वर्ष ूजलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ २०८१ को राष्ट्रिय धान दिवस मनाउने  सरकारले निर्णय गरेको छ ।

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार १५ गते राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो। यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ। त्यसैले हरेक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरि धान दिवस मनाइन्छ।

सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो। त्यसै गरी नेपालमा पनि कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको हो।

सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा हरेक वर्ष धानखेती हुँदै आएको छ। सरकारले असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधि र सिप आम किसान माझ अझ पुग्न नसकेका कारण खेती योग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि विज्ञहरूको भनाई छ।

नेपाली संस्कृति अनुसार असार १५ मा दहि चिउरा खाने प्रचलन छ। खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ।
वर्षा याममा हिलाम्य भएको शरीरमा दहि खाँदा उर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन्। यो दिन अधिकांश नेपालीले दहि चिउरा खान्छन्। दहिको महत्व धेरै छ। यो दिन अरू दिनको तुलनामा धेरै दहि खपत हुन्छ र यसका लागि डेरी व्यवसायीहरूले एक हप्ता अघिबाट दहिको जोहो गरेर राख्छन्। दहि नपाइएला भनेर ग्राहकहरू अघिल्लो दिनदेखि नै दहि खरिद गरि राख्छन्। यस दिन बेलुकापख डेरी पसलहरूमा दहि नपुग हुन्छ।

यस दिन मानिसहरू दहि र चिउरामा केरा र आँप पनि मिसाएर खान्छन्। गाउँघरमा पनि सबैले घर घरमा आफैँले दहि जमाएर खान्छन्। शहरी क्षेत्रमा कसै कसैले आफैं जमाए पनि धेरै जसोले भने किनेरै खाने चलन छ। आजभोलि यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरू गरेर पनि यसको महत्व बढाइएको छ। पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइ महोत्सव भनेर विगत १७ वर्षदेखि माउँदै आइएको छ। यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरुको संख्या पनि बढ्ने गरेको छ।

आजभोलि विद्यालयका विद्याथीहरूलाई पनि दहि चिउरा खुवाउने र रोपाईंमा सहभागी गराउने गरिएको छ। यो राम्रो पक्ष  हो। पहिले पहिले बाजा बजाएर नाँच गान गर्दै रोपाईं गर्ने चलन थियो। त्यस्तो चलनलाई बेठी लगाउने भनिन्थ्यो। त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरुकोमा हुने गर्दथ्यो। तर आजभोलि यो चलन हट्दै गएको छ। अब यस्ता चलनले निरन्तरता नपाउने हो भने हाम्रो परम्परा लोप हुँदै जान्छ। अब हामीले यसलाई देखावटी मात्र नभई उपलब्धि मुलक बनाउन सक्नुपर्छ। यसले हाम्रो कृषि प्रधान देशमा धेरै ठूलो महत्व राख्छ।

हामीले कति पटक धान दिवस मनाइयो भन्ने कुरा ठूलो वा महत्वपूर्ण नहुन सक्छ। तर उपलब्धि के भयो भन्ने कुराले ठूलो महत्व राख्छ। हाम्रो देशमा सबैभन्दा धेरै उत्पादन हुने भनेकै धान हो। तर अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्र भएर पनि धान आयात गर्दैछौं। यो दुःखद कुरा हो। अब यस्ता दिवस मनाउनका लागि मात्र नभएर परिणाममुखी हुनुपर्छ । दैनिक सयौं युवा विदेशीने अनि हामी देखावटी यस्ता कार्यक्रम गरिरहनुमा कुनै अर्थ हुँदैन। अब विदेशिएका युवाहरुलाई स्वदेशमा कसरी आकर्षित गर्ने र विदेश जान कसरी रोक्ने भन्ने  कुरातिर हामी लाग्न आवश्यक छ। 

कृषि क्षेत्रको महत्वपूर्ण क्षेत्र मध्ये दुग्ध क्षेत्र एक महत्वपूर्ण क्षेत्र हो। अहिले हामी करीब ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्न सक्ने भएका छौं। यस्तो अवस्थामा हामी अब कसरी आधुनिकतामा जाने र अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्नेतिर लाग्न आवश्यक भइसक्यो । त्यसैले हामी सबैजना नेपाल कृषि प्रधान देश हो भनी जुन नाम छ त्यो नामलाई बचाउन लागौं र कृषि क्षेत्रको विकास नभइ अरू कुनै पनि क्षेत्रको विकासले देशलाई समृद्ध बनाउन सक्दैन भन्ने मुख्य कुरा बुझी अगाडि बढौं। त्यसैले हामी जसरी भए पनि कृषिका उपजहरु आयात रोकि अब निर्यात तर्फ लाग्न ढिला भइसकेको छ। हामी सबैलाई यस वर्षको असार १५ गतेले यहि शक्ति प्रदान गरोस्। सबैमा हार्दिक शुभकामना।

यस्ता छन् दहि सेवनका फाइदा ?
– दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।
– दही मुटुको समस्या र उच्च रक्तचापका बिरामीलाई फाइदाजनक मानिन्छ ।
– पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ ।
– अरुचिको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ ।
– आन्द्रा तथा पेट सम्बन्धी रोगहरूमा दहीको नियमित सेवनले फाइदा पुर्‍याउँछ ।
– दहीको सेवनले उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुर्‍याउँछ ।
– दहीको नियमित सेवनले कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ ।
– मुटुको धड्कन बढ्ने समस्यामा पनि दहीको सेवन लाभदायी हुन्छ ।
– दहीको सेवनले हड्डीहरुको विकासमा सहयोग पुर्‍याउँछ ।
– दाँत, नङ बलियो पार्न पनि दहीको सेवन उपयोगी हुन्छ ।
– अनिन्द्राका समस्या भएकाहरूले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ ।
– दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्‍याउँछ ।

२ दिन अगाडि

प्रतिक्रिया