१० प्रतिशत धान रोपाइँ सकियो

२ दिन अगाडि

काठमाडौँ - कृषि विभागले देशभरमा ९.८ धान रोपाइँ सकिएको जानकारी दिएको छ । सबै प्रदेशबाट प्राप्त तथ्यांकअनुसार यस अवधिसम्ममा ९.८ प्रतिशत धान रोपाई सकिएको विभागले जानकारी दिएको हो ।

गत वर्षको यस अवधिसम्ममा ८.७५ प्रतिशत रोपाई सम्पन्न भएको थियो । नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ । यसमध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा रोपाइँ सकिएको छ । यो प्रदेशको २३.९ प्रतिशत हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत, बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

यसबाहेक लुम्बिनीमा ८.८ प्रतिशत भूभागमा रोपाइँ सकिँदा गण्डकीमा ८.३ प्रतिशत रोपाइँ सकिएको छ । यसबाहेक कोशी प्रदेशमा ५.६ प्रतिशत भूभागमा र मधेश प्रदेशमा २.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको बताइएको छ । तथ्यांकअनुसार सबैभन्दा कम रोपाई मधेशमा भएको छ ।

२ दिन अगाडि

प्रतिक्रिया