कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्छ : पूर्वअर्थमन्त्री महत

२ दिन अगाडि

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान महासङ्घले लिखु गाउँपालिका–६ मा आयोजना गरेको रोपाइँमा जनशक्ति र यान्त्रिकीकरणबिचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् । ‘नयाँ प्रविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ’, उनले भने, ‘जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन् । यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।’ किसानलाई मलको अभाव हुन नदिन प्राङ्गारिक मलको उत्पादन र उपभोगमा लाग्न पूर्वमन्त्री महतले किसानलाई अनुरोध गर्दै भने, ‘किसानले रासायनिक मल खरिद गर्न धेरै लगानी र समय खर्चेका छन् ।’

महतका अनुसार गोठमै बनाउन सकिने कम्पोस्ट मल र प्राङ्गारिक झोल मल बनाउन किसानलाई सरकारको सहयोग आवश्यक छ । उनले बीउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने समेत बताए ।

२ दिन अगाडि

प्रतिक्रिया