रूससँगको युद्ध अन्त्य गर्न ‘विस्तृत योजना’ मस्यौदा गर्दै युक्रेनी राष्ट्रपति

२ दिन अगाडि

काठमाडौँ - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘विस्तृत योजना’ तयार गरिरहेको अल जजिराले जनाएको छ ।

‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना देखाउनु आफ्नो लागि धेरै महत्त्वपूर्ण छ’, युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार किएभमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन् । उनले यो कूटनीतिक मार्ग भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै युक्रेन र रूसबीच हाल कुनै वार्ता भने नभएको स्पष्ट पारे । युक्रेन र रूसबीच हालसम्म कुनै वार्ता नभएकाले जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा सम्भावित शान्ति सम्झौताका शर्तहरूको कुरा गर्दा दुई पक्ष पहिलेभन्दा धेरै टाढा देखिन्छन् । शान्ति वार्ता सुरु हुनअघि युक्रेनले बारम्बार क्रिमियाको प्रायद्वीपसहित आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रबाट रूसले आफ्नो सेना फिर्ता लिनुपर्ने बताउँदै आएको छ ।

यद्यपि २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रूसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गरेका छन् । चालू महिनाको सुरुमा युक्रेनी राष्ट्रपतिले स्विजरल्याण्डमा एउटा अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गरेका थिए । सम्मेलनमा युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रूसलाई आमन्त्रित गरिएको थिएन ।स्विजरल्याण्डमा भएको दुई दिने शिखर सम्मेलनमा ९० भन्दा बढी देशले नेता र वरिष्ठ अधिकारीहरू पठाएको र अधिकांशले युक्रेनको ‘क्षेत्रीय अखण्डता’लाई सम्झौतामा सम्मान गर्नुपर्ने कुरामा जोड दिने अन्तिम विज्ञप्ति जारी गर्न सहमत भएको अल जजिराले जनाएको छ ।

यसबाहेक रूसी सेना युक्रेनको क्षेत्रमा विस्तारै अघि बढिरहेका छन् भने शुक्रबार अर्को अग्रपक्ङ्तिमा रहेको सानो गाउँ कब्जा गरेको दाबी रूसले गरेको छ । मस्कोले हाल युक्रेनको लगभग २५ प्रतिशत स्थान ओगटेको र सन् २०२२ मा चार वटा क्षेत्र कब्जा गरेको दाबी गरेको छ ।यसअघि बिहीबार ब्रसेल्समा भएको ईयू काउन्सिल शिखर सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न केही महिनाभित्र ‘विस्तृत योजना’ अगाडि राख्ने बताएका थिए । जेलेन्स्कीले सैनिक र नागरिकबीचको उच्च हताहतको कहालीलाग्दो दरलाई औंल्याउँदै द्वन्द्व अन्त्यका लागि आफूहरूसँग धेरै समय नभएको बताए । एजेन्सी

२ दिन अगाडि

प्रतिक्रिया