एग्रिकल्चर गेम रियालिटी शोको आवेदन खुला

२ दिन अगाडि

काठमाडौँ - पहिलो एग्रिकल्चर गेम रियालिटी शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहबिच धान रोपाइँ उत्सव मनाउँदै कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगिताको आवेदन खुला गरिएको छ ।

तिनै तहका सरकारहरूसँग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय  र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लगायतसँग साझेदारी भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमको होस्ट महानायक राजेश हमाल रहेका छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन्, जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ ।

निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन्। ‘र’  एक बेजोड़ रियालिटी गेम शो हो, जुन कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको छ । यस कार्यक्रम कृषि उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेसाको रूपमा स्थापित गरि किसानलाई सम्मानजनक पहिचान दिने उद्देश्य अनुरूप प्रस्तुत गरिएको छ।

कृषक र कृषि प्राविधिक यस शो मा प्रतियोगी रहने छन् जसमा दिगो र नवीन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै, उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलको परीक्षण गरिने छ । कार्यक्रमको उद्देश्य कृषिको महत्वलाई उजागर गर्दै, युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानहरूको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रूपमा प्रस्तुत गर्ने हो ।

२ दिन अगाडि

प्रतिक्रिया