वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ : प्रधानमन्त्री

२ दिन अगाडि

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिस्ट एवम् वामपन्थी शक्तिहरू एकताबद्ध पुग्नुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई शनिबार यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवम् वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताए । “विगतमा नेपाल दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्‍यौँ । तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दीगो हुन सकेन,” प्रधानमन्त्री प्रचण्डले भने, “विगतका अनुभवहरूबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबिचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।”

व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोशिस जारी रहेको बताउँदै प्रधानमन्त्रीले सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्याय लगायतका क्षेत्रमा गुणात्मक प्रगति हासिल गरेको बताए ।“दशकौँ लामो सङ्घर्षका बलमा समाजवादउन्मुख संविधान निर्माण गर्न सफल भएका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “सामन्ती राजतन्त्रको ठाउँमा समावेशी गणतन्त्र, एकात्मकताको ठाउँमा विकेन्द्रिकरण सहितको सङ्घीय प्रणाली, एकल भाषा, धर्म र संस्कृतिको ठाउँमा बहुभाषिकता, धर्मनिरपेक्षता र प्रगतिशील संस्कृतिको निर्माण लगायतका उपलब्धी प्राप्त गरेका छौँ ।”

क्रान्तिले आम जनसमुदायमा शीघ्र परिर्वतनको आकाङ्क्षा जगाइदिएको परिस्थितिमा जनताको आकाङ्क्षाबमोजिम परिवर्तनको बेगलाई बढाउनुपर्ने जिम्मेवारी र चुनौती रहेको बताउँदै प्रधानमन्त्रीले जनआकांक्षा पूरा गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए । “म यही मञ्चमार्फत् सबै कम्युनिस्ट घटक र नेताहरूमा अपील गर्दछु– साझा मुद्दाहरूमा सहकार्य गर्दै अगाडि बढौँ । वैचारिक प्रश्नहरूमा गहन छलफल गरौँ र समान दृष्टिकोण निर्माणको दिशामा अगाडि बढौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “इतिहास, हाम्रा स्कुल र पूर्वाग्रहका आधारमा होइन, नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने सङ्कल्पका साथ खुला हृदयले बहस गरौँ र उचित निष्कर्षमा पुगौँ ।”निरङ्कुता विरोधी योद्धा, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार, इतिहास, समाजशास्त्र, मानवशास्त्रका ज्ञाता कमरेड पुष्पलालका योगदानहरूको सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सहकार्यका साथ अगाडि बढ्न आग्रह गरे  ।


 

२ दिन अगाडि

प्रतिक्रिया