किसानलाई मल छैन, प्रधानमन्त्री विउ

२ दिन अगाडि


काठमाडाैं- यतिबेला धान रोप्न गाउँघरमा जति  चटारो छ त्यति नै चटारो  किसानलाई रासायानिक मलको जोहो गर्न छ ।  शनिबार देशभर असार १५ मा धान रोप्न देशका प्रधानमन्त्रीदेखि उच्च तहका नेतागण समेत हिलोमा झुमे  । तर, काभ्रेका रिता थापा मलको जोहोको निम्ति नजिकैको शहकारीमा हतारिदै पुगिन् । उनले यो वर्ष मात्र मलको अभावको समस्या भोगेकि होइनन्, विगत ४,५ वर्ष देखिकै उनको निरन्तरता हो । चानचुन एक विघाको  खेतमा धान  रोपिन्छ  तर,  त्यतिका खेतमा मल भने सिमित कोटामा मात्र पाउँदा उनको मन कुडिन्छ ।

अर्को चितवनको राप्ती नगरपालिका–१ का रोमनाथ रिजालले धान रोपेको एक महिना बित्यो । धानमा मल हाल्न बितिसक्यो । तर उनले सधैं मल पाउँदै आएको साना किसान सहकारीमा यसपालि मल आएन । ‘पाँच दिनअघि एक लट मल आएछ, एउटा किसानलाई पाँच किलोको दरले बाँडेछन्, तर मैले पत्तै पाइनँ,’ उनी भन्छन्, ‘पाँच किलो पाएको भएपनि के गर्नु, मलाई ३५ किलो जति चाहिन्छ ।’

सरकारले अनुदानसहित उपलब्ध गराउने युरिया मल १८ रुपैयाँ किलोमा पाइन्छ । रिजालले अन्य निजी फर्मबाट पनि मल किन्ने प्रयास नगरेका होइनन्, तर ४० रुपैयाँ किलो तिर्छु भन्दा पनि पाएका छैनन् । अहिले राप्तीका अधिकांश कृषकको खेतमा धान गोड्ने बेला भयो । तर, मल कहिले आउँछ भनेर सहकारीका पदाधिकारीले बताउन सकेका छैनन् । ‘मल आएपछि थाहा पाइहाल्नुहुन्छ’ भन्दै उनीहरु तर्किन्छन् ।

किसानले हरेक वर्षको मलको समस्या भोग्दै आएको कुरा स्वयं प्रधानमन्त्रीलाई थाहा नहुने कुरै भएन । त्यसमाथि सडकदेखि सदनसम्म किसानलाई मलको अभाव झेल्न नपरोस भन्दै आवाज उठिरहेको छ । मलको पिडामा किसानको आँशु खस्दै गर्दा देशका प्रधानमन्त्री ट्याक्टरले धानको विउ रोपेर किसानको पिडामाथि भद्दा मजाक गरेका छन् । शनिबार चितवन पुगेर उनले मलको अभाव नरहेको दाबी गरे पनि किसानको हातमा मल पुग्न सकेको छैन । गोदाममा प्रर्याप्त मल भए पनि स्थानीयसँगको समन्वय नहुँदा किसान विना मल रोपाई गर्न बाध्य छन् । अनुदानमा पाउने सस्तो मलमा समेत स्थानीयहरुले ढुवानी भाँडा र अन्य खर्च देखाउँदै दोब्बर भन्दा बढी महँगोमा विक्रि गर्दै आइरहेका छन् ।

धान बाली लगाउने समयमा मल नपाएपछि यो वर्ष देशभरकै किसान समस्यामा छन् । सरकार मलको टेन्डर प्रक्रियामा अल्मिलिएर बस्दा किसान उत्पादन घट्ने चिन्ताले पिरोलिएका छन् । अहिले दैनिक जसो किसानहरु रासायनिक मलको लागि जिल्ला सदरमुकाम र नजिकको सहकारी पसल पुग्दै रित्तो हात फर्किरहेका छन् । माैज्दात बाहेक तत्कालै आपूर्ति सुनिश्चित गरिएको एक लाख ४१ हजार टनमध्ये भारतको बिसाखापट्टनम बन्दरगाहमा ५१ हजार टन डिएपी झरिसकेको र नेपालतर्फ भित्रिन सुरु भएको मन्त्रालयले जनाएको छ । रेलका ¥याकमा २५ टनका दरले मल नेपाल भित्रिने गरेको छ । यो परिमाणको मल असार अन्तिमसम्म नेपाल आइसक्नेछ ।

त्यस्तै, ग्लोबल टेन्डरबाट आपूर्ति सुनिश्चित गरिएको १० हजार टन डिएपी कोलकाता बन्दरगाहमा झरिसकेको र नियमित रूपमा आयात भइरहेको मन्त्रालयले जनाएको छ । थप २५ हजार टन डिएपी भारतसँगको सरकारी स्तरमा भएको ‘जिटुजी’ सम्झौताअनुसार आयात सुनिश्चित भएको छ । यो परिमाणको मल ७ जेठबाट भारतदेखि चलान सुरु भएको र जेठ दोस्रो सातादेखि नेपालले प्राप्ति गरिरहेको छ ।

थप २५ हजार टन डिएपी चीनबाट जहाजमा लोड भएर निस्किसकेको छ । चीनमा सिपमेन्ट भएको करिब २५ दिनमा कोलकाता बन्दरगाहमा मल आइपुग्ने गरेको छ । अबको दुई सातामा यो मल कोलकाता आइपुग्ने मन्त्रालयले जनाएको छ । त्यसैगरी, २७ जेठमा कोलकाता आइपुग्ने गरी ३० हजार टन युरिया पनि स्रोत मुलुकबाट चलान भइसकेको छ । असार पहिलो साता उक्त युरिया बोरामा प्याक भई नेपालतर्फ ढुवानी सुरु हुनेछ ।
चीनमा सिपमेन्ट भएदेखी कोलकाता र बिसाखापट्टनम बन्दरगाहबाट नेपालतर्फ ढुवानी भइरहेको मल असार अन्तिमसम्म भित्रिसक्ने कृषि मन्त्रालयको दाबी छ । हालसम्म आपूर्ति सुनिश्चित भएको परिमाणमध्ये एक लाख एक हजार एक सय ३७ टन युरिया र एक लाख २७ हजार दुई सय १५ टन डिएपी रहेको छ ।






२ दिन अगाडि

प्रतिक्रिया