सृष्टि जितिन् पाँचौँ एसईई डान्स च्याम्पियनसिप

३ दिन अगाडि

काठमाडौँ - पाँचौँ एसईई डान्स च्याम्पियनसिप–२०२४ को उपाधि पोखराकी सृष्टि गुरुङले जितेकी छिन् । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले काठमाडौँको नाचघरमा शनिबार बेलुका आयोजना गरेको यो प्रतिस्पर्धाको फाइनलमा ७ वटै प्रदेशबाट २५ प्रतिस्पर्धी थिए ।

ती सबैलाई विभिन्न चरणको नृत्यमा उछिनेर सृष्टि उत्कृष्ट भएकी हुन् । सृष्टिले उपाधिसँगै १ लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र र १२ कक्षासम्मको लागि पूर्ण छात्रवृत्ति हासिल गरिन् । सो अन्तिम प्रतियोगितामा दोस्रो पुरस्कार काठमाडौँकी प्रगति पोखरेलले र तेस्रो पुरस्कार बबिता मगरले हासिल गरिन् । उनीहरूले क्रमशः ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र र १२ कक्षासम्मको लागि पूर्ण छात्रवृत्ति हासिल गरे ।

यो प्रतियोगितामा कहीँ प्रत्यक्ष र कहीँ डिजिटल गरेर सबै प्रदेशबाट अडिसन लिई फाइनलका लागि २५ प्रतिस्पर्धी चयन गरिएको थियो । प्रतियोगितामा फाइनलमा पुगेका २५ जना प्रतिस्पर्धीले नै १२ कक्षासम्म अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । यो प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा नृत्य निर्देशकहरू कृष्णप्रसाद पौडेल, प्रेमलाल श्रेष्ठ, रोहिया महर्जन, दिवस गिरी, शान्ति कठायत निर्णायक थिए । 

सोही समारोहमा विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मानित गरियो । कार्यक्रममा सङ्गीत रत्न शम्भुजीत बासकोटालाई सङ्गीत रत्न सम्मानबाट सम्मानित गरियो । यस्तै प्रा। हनि श्रेष्ठलाई नृत्य शिक्षा सम्मान, पत्रकार विदुर गिरीलाई चलचित्र पत्रकारिता सम्मान, चलचित्र निर्देशक दिनेश राउतलाई प्रगतिशील चलचित्र निर्देशक सम्मान, गायक पुष्प गजमेरलाई सङ्गीत सम्मान र नृत्यकार स्वजन रघुवंशीलाई बज्रयोगिनी नृत्य ऊर्जा सम्मानबाट सम्मानित गरियो । 

३ दिन अगाडि

प्रतिक्रिया