घरजग्गा रजिष्ट्रेसनबाट राजस्वमा १६.१ प्रतिशतले वृद्धि

२ दिन अगाडि

काठमाडौं- पछिल्लो समय देशभर घरजग्गा कारोबार बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

विशेषगरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्याङ्कमा उल्लेख छ। बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा वृद्धि भएको पनि देखिएको छ। नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो। कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले घरजग्गा रजिष्ट्रेसन संख्या ३२.९ प्रतिशतले बढेको देखाएको छ। आर्थिक वर्ष  २०८०र८१ अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबार बढेको देखाएको हो।

घरजग्गाको कारोबारमा बृद्धि भएसँगै मालपोत कार्यालयमा रजिष्ट्रेसन गर्नेको संख्या पनि बढेको हो। यसबापत राजस्वमा १६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ। यो अवधिमा सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ मात्रै राजस्व परिचालन भएको थियो।

राष्ट्र बैंकका अनुसार रियल स्टेट  र हाउजिङ दुवैमा बैंकहरूको लगानी बढेको र घरजग्गामा प्रवाह बढिरहेको छ। कुल कर्जा प्रवाहको १३ प्रतिशत कर्जा आवासिय व्यक्तिगत घरकर्जा र अन्य घरजग्गामा प्रवाह भइरहेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूले कुल ५१ खर्ब १२ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको कुल कर्जा प्रवाह गरेकोमा व्यक्तिगत र यसबाहेकका घरजग्गा कर्जामा मात्रै ६ खर्ब ३८ अर्ब ३० करोड ६७ लाख रुपैयाँ बराबरको प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।

२ दिन अगाडि

प्रतिक्रिया