सुनको गहना बनाउँदा जर्ती बापतको शुल्क लिनु व्यवहारिक हुदैँन :व्यवसायी गुप्ता

आइतबार, २३ असार २०८१, १६ : ४६

काठमाडौँ-  सुनको गहनामा जर्तीरहित ज्याला प्रणाली लागु गर्न आग्रह गरिएको छ । सुृन–चाँदी व्यवसायी तथा रिद्धि सिद्धि ज्वेलर्सका सञ्चालक समेत रहेका नरेन्द्र कुमार गुप्ताले सुनको गहना बनाउँदा १०–१२ प्रतिशतसम्म जर्ती बापतको शुल्क लिनु व्यवहारिक नभएको बताएका हुन् । 

आइतबार एक अपील जारी गर्दै उनले भने, ‘सुनको गहना बनाउँदा जर्ती लाग्छ, यो ध्रुवसत्य हो । तर तथ्य यो पनि हो कि सामान्यतया गहनाको प्रकृति हेरेर १ तोला सुनको गहना बनाउँदा १–२ लाल मात्र जर्ती लाग्छ। जबकि अपारदर्शी ढङ्गले अहिले बजारमा प्रतितोला १०–१२ प्रतिशतसम्म जर्तीको खर्च उपभोक्तासँग असुल्ने गरिएको छ।’

 फेरि, सोही गहना बिक्री गर्न जाँदा पनि रसायन जर्ती भनेर थप उपभोक्ताको पैसा काट्ने प्रचलन रहेको उल्लेख गर्दै उनले जर्तीसहित ज्याला प्रणाली अहिलेको आवश्यकता भएको बताए । 

‘जर्तीरहित पारदर्शी र उपभोक्तामैत्री ज्याला प्रणाली लागु गर्ने मेरा आह्वानमा विभिन्न सङ्घ, महासङ्घ तथा प्रतिस्पर्धी व्यवसायी मित्रहरूलाई सहकार्य गरेर अघि बढ्न हार्दिक अपिल गर्दछु’, उनले भने, ‘तर, सीमित प्रतिस्पर्धी व्यवसायीहरू, सुन कोटा माफियाहरू, सिन्डिकेटका मुकुटधारी तथा समर्थकहरूको योजनामा मलाई सुन उपलब्ध नगराउन भनी नेपाल बैंकर्स एसोसिएसनलाई पत्राचार गरिनु खेदजनक छ ।’

उनी आबद्ध रिद्धि सिद्धिलाई जर्तीकै विषयमा विवाद भएपनि नेपाल रत्न तथा आभूषण महासंघको पत्रको आधारमा बैंकले नियम संगत पाउनुपर्ने सुन दिएको थिएन ।  उनले जर्ती नलिने घोषणा र ७ प्रतिशत ज्याला मात्रै कायम हुँदा श्री रिद्धि सिद्धि ज्वेलर्सबाट उपभोक्ताले झन्डै १५ हजारसम्म राहत पाउन सफल भएको बताए । ‘अन्य व्यवसायीले पनि यो अभियानमा साथ दिएमा पारदर्शी व्यवसाय र उपभोक्ताले पनि राहत पाउनेमा दुई मत छैन’, उनले भने । रिद्धि सिद्धि ज्वेलर्सले गत गत जेठ २४ देखि आफ्नो मुनाफा कम गरी जर्ती समायोजनपछि जम्मा ७ प्रतिशत ज्यालामा सुनका गहना उपलब्ध गराउँदै आएको उनको भनाइ छ । 

‘उपभोक्ता भ्रमित पार्ने मनसायले वर्षौ देखि ल्याइएको  अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो सबैले खारेज गर्न जरुरी छ ।  साथै पारदर्शी जर्ती संयोजित उचित ज्याला लागु हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ’, उनले भने ।  

 उनले  उपभोक्तामैत्री आफ्नो अभियानलाई सहयोग गर्न सबै पक्षसँग आह्वान पनि गरेका छन् ।
 

आइतबार, २३ असार २०८१, १६ : ४६

प्रतिक्रिया