कुलमान विरुद्ध उद्योगीको काउन्टर,५९ वटा उद्योगले आफैं  काटे बिजुली

आइतबार, ३० असार २०८१, २३ : ०३

काठमाडाैं- कुलमानले पुन उद्योगीहरुको  विजुली काट्न थालेपछि आज आइतबार ५९ भन्दा बढी उद्योगीले  आफै बिजुली काटेका छन् । डेडिकेटेड विवाद चरमोत्कर्षमा पुगिरहेको  बेला ५९ वटा उद्योगले आफैं बिजुली काटेका छन् ।

नेपाल विद्युत प्राधिकरणले असार २५ र २६ गतेका दिन विद्युतको बक्यौता तालिका समयमा नबुझाएको भन्दै विभिन्न उद्योगको बिजुली काटिदिएपछि उद्योगीहरु रुष्ट थिए । प्रधानमन्त्रीमा केपी  शर्मा ओली नियुक्त भएकै दिन ५८ उद्योगीलेहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध मोर्चाबन्दि गर्दै आफैले लाइन काटेका हुन्  । उनीहरूले हालको विवाद समाधान हुने बाटोमा नगएसम्म कुनै पनि उद्योगले प्राधिकरणबाट बिजुली आपूर्ति नलिने पनि बताएका छन् । पीडित तथा प्रताडित उद्योगी समूहले प्रेस विज्ञप्ति जारी गर्दै आइतबारबाट उद्योगमा आफै बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको बताएको छ । 

‘गत बिहीबारपछि पनि प्राधिकरणले डेडीकेटेड तथा ट्रंकलाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठन भएको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न अग्रसरता देखाउनु भन्दा पनि उद्योगीलाई तर्साउने र धम्काउने कामलाई निरन्तरता दियो । उद्योगीलाई अतिरिक्त महसुल तिर्नुको आधार र कारण जानकारी गराउनु भन्दा पनि थप उद्योगमा विद्युत् आपूर्ति बन्द गर्यो । जसले गर्दा हामी पीडित तथा प्रताडित उद्योगी समूहले गत असार २७ गते जानकारी गराएअनुसार आइतबारबाट स्वतःस्फूर्त क्रमशः सबै उद्योगमा बिजुली आपूर्ति कटौती गर्ने निर्णय गरेका छौं’, समूहले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

गत मंगलबार राति र बुधबार राति गरी प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र हुलास स्टिल गरी ५ उद्योगको विद्युत लाइन काटेको थियो । चेतावनीपछि पनि प्राधिकरणले बेवास्ता गरेपछि निर्देशकलाई नयाँ सरकार गठन भएकै दबाबमा पार्ने उद्देश्यले उद्योगीहरुले आइतबारदेखि सबै उद्योगमा स्वस्फूर्त बिजुली काटेका हुन् ।  

डेडिकेटेड तथा ट्रंक लाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लाल आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्देशन कार्यान्वयन नगरी प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम शुरु गरेको भन्दै उनीहरूले यसअघि चेतावनी दिएका थिए ।

तर प्राधिकरणले बिजुली जडान भने गरेको थिएन । उद्योगीहरुले भने आफूहरुलाई तर्साउने र धम्काउने काम भइरहेको आरोप लगाएका छन् ।आइतबार एक विज्ञप्ति निकाल्दै ती उद्योगीहरुले आइतबारदेखि नै सबै उद्योगमा स्वतःस्फूर्त रूपमा बिजुली कटौती गरिएको बताएका छन् । उद्योगीहरूले डेडिकेटेड तथा टंक लाइन विवादमा अध्ययन गर्न गठन भएको गिरिशचन्द्र लाल नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरी बिजुली काटिएको भन्दै विरोध गरिरहेका छन्।
 

आइतबार, ३० असार २०८१, २३ : ०३

प्रतिक्रिया