एक वर्षमा ९३५ वटा व्यापारिक फर्मलाई कारबाही

शनिबार, ०५ साउन २०८१, १३ : ५७

काठमाडौँ - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षमा ९३५ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ ।

आर्थिक वर्ष २०८०\८१ मा अनुगमनका क्रममा उपभोक्ता ठगेको पाइएपछि सो व्यापारिक फर्मलाई आर्थिक जरिवाना गरिएको विभागले जानकारी दिएको हो । गत आर्थिक वर्ष भरीमा विभागले देशभरका ४ हजार २६९ वटा व्यापारिक फर्ममा अनुगमन गरेको थियो । अनुगमनका क्रममा ९३५ वटाले विभिन्न बाहानामा उपभोक्तामाथि ठगि गरिरहेको भेटिएको थियो । ती फर्मले बढी मूल्यमा वस्तु बिक्री गरेको, म्याद गुज्रिएको वस्तु बेचेको लगायत बदमासी भेटिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।

देशभर गरेको अनुगमनमा १४ सय ३७ वटा टोली खटिएका थिए । त्यसक्रममा ९३५ वटा फर्मले उपभोक्ता ठगेको पाइएपछि ती फर्महरुलाई कूल ३ करोड ७५ लाख ८ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ । यस्तै १ हजार १०२ फर्मसँग कागजात माग गरिएको छ । यसबाहेक ८६ वटा फर्ममा म्याद गुज्रिएको वस्तु भेटिएपछि नष्ट गरिएको छ । १ करोड २६ लाख २ हजार रुपैयाँ बराबरका वस्तु नष्ट गरिएको हो ।
 

शनिबार, ०५ साउन २०८१, १३ : ५७

प्रतिक्रिया