निजी क्षेत्र हाबी हुँदा सरकारी उद्योगहरू सङ्कुचन आयो: मन्त्री भण्डारी

शनिबार, ०१ भदौ २०८१, १६ : ५४

काठमाडौँ - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्र हाबी हुँदा सरकारी उद्योगहरू सङ्कुचनमा परेको बताएका छन् । 

मन्त्री भण्डारीले निजी क्षेत्रले लगानी, प्रविधि र उत्पादन तथा बजारमा हाबी हुँदा सरकारी स्वामित्वका उद्योगहरूका सबै पक्षमा सङ्कुचन आएको बताएका हुन् ।हेटौँडा सिमेन्ट उद्योगको स्थलगत अवलोकनका क्रममा मन्त्री भण्डारीले सरकारी स्वामित्वको उद्योग बन्द हुनको कारण सरकार, सञ्चालक समिति, कर्मचारी र संलग्न सबै सरोकारवाला रहेको बताए । 

उद्योग सङ्कटग्रस्त बन्नुको जिम्मेवारी सबैले लिनुपर्ने उनको भनाई छ । उनका अनुसार राजनीतिकरणले सरकारी स्वामित्वका उद्योग बन्द र जीर्ण हुने अवस्थामा पुगेको बताए । हेटौँडा सिमेन्ट उद्योग थलिनुमा पनि सबै पक्ष र राजनीतिकरण नै मुख्य कारण रहेको उनले बताए । सरकारी उद्योगहरू बन्द तथा धराशायी बन्नुमा सबै पक्षको कमजोरी रहेको मन्त्री भण्डारीले औँल्याए ।

‘निजी क्षेत्रका उद्योगहरूको लगानी, प्रविधि, उत्पादन र बजारसँग सरकारी उद्योगहरूले प्रतिस्पर्धा गर्न नसक्दा सरकारी स्वामित्वमा रहेका उद्योगहरू धराशायी बन्न पुगेको हो । निजी क्षेत्र व्यवस्थापन, सञ्चालनको पक्षमा ह्रास हुँदा सरकारी उद्योगमा सङ्कुचन आएको हो ।’ उनले भने, ‘सरकार, सञ्चालक समिति र ट्रेड युनियन उद्योग बन्दको कारणहरू हुन् । सबैले आ–आफ्नो तर्फबाट जिम्मेवारी दिनुपर्छ । राजनीतिका कारणले उद्योगहरूमा समस्या देखिएको हो ।’

सरकारले उद्योग सञ्चालन गर्न नहुने मन्त्री भण्डारीले बताए । उद्योग सञ्चालनको जिम्मा उद्योगी व्यवसायीलाई नै दिनुपर्ने र सरकारले उपयुक्त लगानी तथा उद्योग सञ्चालनको वातावरण निर्माण गरिदिनुपर्ने उनले बताए । सरकारले ९ वटा जीर्ण र सङ्कटग्रस्त उद्योग सञ्चालनको मोडल तयारी अघि बढाएको मन्त्री भण्डारीले बताए । अघिल्लो सरकारले हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सहित जीर्ण ९ उद्योगलाई निजीकरण इकाईमा पठाएको मन्त्र भण्डारीले बताए । 

उक्त इकाईमा विचाराधीन उक्त विषयमा अर्थ मन्त्रालय र प्रधानमन्त्रीसँगको छलफल पछि आवश्यक निर्णय गरिने उनको भनाई छ । सरकारले मोडल सहित निजीकरण इकाई मा रहेका ९ उद्योगका विषयमा निर्णय गर्ने गरी काम अघि बढाएको उनले बताए ।
 

शनिबार, ०१ भदौ २०८१, १६ : ५४

प्रतिक्रिया