साउनमा मात्र ४३ हजार ८३५ वटा जग्गा खरिद बिक्री

सोमबार, ०३ भदौ २०८१, १३ : ०५

काठमाडौँ - चालु आर्थिक वर्षको साउनमा ४३ हजार ८३५ वटा जग्गा खरिद बिक्री भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । 

गत आर्थिक वर्षको साउन महिनामा ३९ हजार २६३ वटा जग्गा कारोबार भएको थियो ।  जसअनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्षको सोही महिनामा ११‍.६४ प्रतिशतले जग्गा कारोबार बढेको पाइएको छ । घरजग्गा कारोबाट बढेसँगै यस अवधिमा राजस्व सङ्कलनसमेत बढेको छ । साउन महिनामा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको  छ। 

गत आर्थिक वर्षको सो अवधिमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागको तथ्यांकमा उल्लेख छ। घरजग्गा कारोबारमा सरकारले  सेवा कर, पुँजीगत लाभ कर, रजिस्ट्रेसन दस्तुर लगायतका कर उठाउने गरेको छ । चालु वर्ष घरजग्गा कारोबारबाट राजस्व सङ्कलन बढेसँगै सरकारको समग्र राजस्व सङ्कलनमा टेवा पुर्‍याएको छ । 

घरजग्गा कारोबार बढ्नुमा तीन वटा मुख्य कारण भएको नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनी बताउँछन् । ठुला राजनीतिक पार्टी सरकारमा आएपछि विकास निर्माणका आयोजनाहरूलाई प्राथमिकता दिनु  मुख्य कारण भएको लोहनीले बताए ।

यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको खुकुलो मौद्रिक नीतिका कारण पनि घरजग्गा कारोबारमा राहत पुगेको उनको भनाइ छ । यसबाहेक बैंकको ब्याजदर घट्दो क्रममा रहेको र बैंकले दिने कर्जामा सुविधा दिएका कारणले पनि कारोबार बढेको उनको भनाइ छ । तर रियलस्टेटको हकमा भने खासै सुविधा नभएको उनले बताए । 

सोमबार, ०३ भदौ २०८१, १३ : ०५

प्रतिक्रिया