किरा भेटिएपछि पानी उद्योगमा सिल

शुक्रबार, ०७ भदौ २०८१, ०९ : १९

काठमाडौं – तुलसीपुर उपमहानगरपालिका– १९ विजौरीमा रहेको डाइनामिक वाटर एण्ड वेभरेज उद्योगलाई सिल गरिएको छ । सिल प्याक गरेर बजारमा बिक्रीका लागि पठाएको प्रशोधित पिउने पानीको बोतलमा किरा भेटिएपछि उद्योग सिल गरिएको हो । उद्योगबाट उत्पादित एक्वा डिमान्ड नाम गरेको प्रशोधित पानीमा ढुसीसहित कमिला फेला परेको थियो । जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन टोलीले घोराही उपमहानगरपालिका वडा नं। १५ दीपशिखा चोकमा रहेको सगुन नास्ता पसलमा किरासहित ढुसी लागेको पानी फेला पारेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको नेतृत्वमा तुलसीपुर पुगेको अनुगमन टोलीले तुलसीपुर उपमहानगरपालिका –ं। १९ विजौरीमा रहेको डाइनामिक वाटर एण्ड वेभरेज उद्योगको उत्पादन र बिक्री वितरणलाई रोक लगाउँदै सिल गरेको छ ।

घोराहीबाट बरामद गरिएको किरा र ढुसीसहितको लेबल नलगाएको बोतल बोकेर उद्योग पुगेको अनुगमन टोलीले मापदण्ड पूरा नगरेसम्म उद्योग सञ्चालन गर्न रोक लगाएको हो । पानीमा ढुसी र किरा भेटिएपछि प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले उद्योग सिल गरी उत्पादन र बिक्री वितरणमा रोक लगाउन निर्देशन दिदै सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई उद्योगमा पठाएका थिए । उद्योग संचालकलाई उपभोक्ता हित संरक्षण २०७५ र नियमावली २०७६ अनुसार कारबाही प्रकृया अघि बढाइने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।

शुक्रबार, ०७ भदौ २०८१, ०९ : १९

प्रतिक्रिया