नेपालमा किन एकपछि अर्को गर्दै तोडीदै छ सुन मूल्यको रेकर्ड ?

आइतबार, ३० भदौ २०८१, ०७ : ०९

काठमाडाैं-  पछिल्लो समय सुनको मूल्यमा रेकर्डपछि रेकर्ड कायम गरेको छ ।अघिल्लो साता पनि सुनकोमूल्यमा नयाँ रेकर्ड कायम गरेको थियो । अघिल्लो साता  दिन बुधबार रेकर्ड कायम गरेको मूल्य पाँचौं दिन बिहीबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मुल्यमा विगत केही समयदेखि देखिँदै आएको बढ्दो ट्रेण्ट लगायतका कारणले सुनको मूल्य बढ्न सघाएको नेपाल सुन चाँदी व्यवसायी व्यवसायी महासंघले जनाएको छ ।

साताको पहिलो दिन आइतबार १ तोला सुन किन्न १ लाख ५२ हजार १०० रुपैयाँ खर्च गर्नु पर्नेमा सोमबार मूल्य १ सयले बढ्दै १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार १ लाख ५२ हजार ४ सय मा कारोबार भएको सुन बुधबार प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो बिहीबार १ सयले घट्दै १ लाख ५३ हजार ३ सयमा कारोबार भएको सुनले शुक्रबार अहिलेसम्मकै महँगोको रेकर्ड राख्यो । शुक्रबार सुन तोलाको १ लाख ५६ हजार ३ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले वृद्धि भएको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय रुपैयाँ ५० पैसा रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसामा कारोबार भएको छ ।

नेपालमा कोटा प्रणालीअनुसार वाणिज्य बैंकहरूले दिनको २० किलो सुन आयात गर्न पाउने व्यवस्था छ। चाडबाड र बिहेको सिजनमा सुनको माग बढ्ने हुँदा व्यवसायीले कोटा बढाउन ‘लबिइङ’ गर्दै आएका छन् । पछिल्लो समय भने बजार सुस्त रहेको  सुनचाँदी व्यवसायी अनुप ताम्राकारले बताए । उनले भने, ‘अहिले विहेकै सिजनमा पनि सुनको माग खास छैन मन्दीकोअसर यता पनि राम्रै देखिएको छ ।’  सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुन्द्रा वृद्धि हुन्छ । विदेशी  मुन्द्रा सञ्चितिका दृष्टिकोणबाट सुनको मूल्य बढ्नु मुलुकका लागि पनि राम्रो  मानिदैन । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको १८ लाख ५ सय किलो सुन आयात भएको छ । उक्त सुन यूएईबाट आयात भएको हो । यसबाट सरकारले २ अर्ब २८ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 
 

आइतबार, ३० भदौ २०८१, ०७ : ०९

प्रतिक्रिया