काठमाडौं - आगामी वैशाख १ गतेदेखि सुरु हुने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सफल पार्न सबै सरकारी कार्यालय एवं सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गरेको छ ।
चाँगुनारायण नगरपालिका कार्यालयमा आज प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा सम्पन्न सरकारी कार्यालयका प्रमुखसँग भ्रमण वर्षसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरकारी कार्यालयका प्रमुखले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले नगरकोट भ्रमण वर्ष चाँगुनारायणको मात्रै नभई भक्तपुर र देशकै प्रतिष्ठाको विषय भएकाले यसलाई सफल पार्न सबै कार्यालयले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए । भ्रमण वर्षमा पर्यटकको शान्ति सुरक्षाको व्यवस्थामा ढुक्क हुन नगरपालिकालाई आग्रह गर्दै उहाँले नगरकोटलाई ‘ब्राण्डिङ’ गर्ने गरी काम गर्नुपर्ने औँल्याए ।
“नगरकोट यसै पनि पर्यटकीय गन्तव्य हो, महोत्सवमा अझ बढी चासो हुन्छ, नगरकोट आउनु अगाडि स्वदेशी तथा विदेशी पर्यटकले यहाँको विशेषता के हो भनेर बुझ्न खोज्छन्, सूर्योदय, सूर्यास्त र हिमाल मात्रै होइन, यहाँको उत्पादन, कला, संस्कृति र पहिचानलाई पनि ब्राण्डिङ बनाएको छ, त्यसको बिक्री गर्नुपर्छ”, प्रजिअ अर्यालले भने, “यहाँको विभिन्न उत्पादनदेखि हस्तकलाका सामानका लागि बिक्रीका लागि राख्नुपर्छ, यातायातको सहज व्यवस्था हुनुपर्छ, होटल व्यवसायीले पर्यटकलाई कति छुट दिन्छन्, त्यसको निश्चितता हुनुपर्छ, गुणस्तरीयमा ध्यान दिनुपर्छ ।”
भक्तपुरदेखि धुलिखेलसम्म आउने पर्यटकलाई एक पटक नगरकोट घुम्न जाऔँ, कम्तीमा दुईरात बसौँ भन्ने सन्देश देश तथा विदेशमा फैलाउने गरी सञ्चार माध्यम र डिजिटल मिडियाको प्रयोग गर्ने गरी योजना अगाडि लैजानुपर्ने उनले बताए । प्रजिअ अर्यालले सामान्य परिवारदेखि मध्यमवर्गीय परिवारसम्म नगरकोट आएर बस्न सक्ने गरी व्यवस्थापन गर्नुपर्ने जनाउँदै तीन वटै सरकारसँग समन्वय गर्दै भ्रमण वर्ष अगाडि बढाउनुपर्ने बताए ।
नगर प्रमुख जीवन खत्रीले नगरकोटलाई मुख्य पर्यटकीय विन्दु बनाएर चाँगुनारायण, काठमाडौंको शङ्खरापुर, काभ्रेपलाञ्चोकको मण्डन देउपुर र बनेपा नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने भ्रमण वर्षका लागि भ्रमण वर्षभरि सुरक्षाको व्यवस्था मजबुत गर्न, नगरकोटमा फ्रि वाइफाइ जोन बनाउन, नगरकोट जाने सडकको मर्मत गर्न, विद्युत् आपूर्तिको सहज व्यवस्था गर्नलगायतमा जिल्लास्थित सरकारी कार्यालयले टेवा पुर्याउनुपर्ने बताए ।
उनले भने, “नगरकोटलाई स्वदेशी तथा विदेशी पर्यटकको प्रस्थान विन्दु बनाएर भ्रमण वर्षको आयोजना गरेका छौँ, विश्व सम्पदामा रहेको चाँगुनारायणदेखि नगरकोटसम्म र ताथलीसम्म वडा नं १ देखि ९ सम्मका प्रत्येक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने, त्यहाँका सम्पदालाई उजागर गर्ने, उत्पादन प्रदर्शन गर्ने, प्रत्येक महिनामा प्रत्येक वडामा छुट्टै महोत्सव गर्ने र अरू नगरपालिकाले पनि नगरकोटमा संयुक्त र आफ्नो नगरपालिका क्षेत्रमा पर्ने पर्यटकीय गतिविधि गर्ने गरी तयारी गरिएको छ ।”
प्रहरी परिसरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले भक्तपुरमा भएका प्रहरीलाई सम्भव भएसम्म नगरकोटमा परिचालन गरी सुरक्षाका व्यवस्था गर्ने, सडकमा सिसी क्यामरा राख्नुपर्ने, स्थानीय स्वयंसेवक परिचालन गर्नुपर्ने र सडक मर्मत गर्नुपर्ने बताए।
विद्युत् प्राधिकरणका प्रमुख सत्यनारायण साह र दूरसञ्चार प्राधिकरणका प्रमुख रामप्रसाद साहले कार्यक्रम स्थलको सव स्टेशन हटाएर विद्युत्को व्यवस्था गर्ने, खम्बाको मर्मत गर्ने, अनावश्यक खम्बा हटाउने, खम्बामा रहेको निजी कम्पनीका इन्टरनेटको लथालिंग तार हटाउनुपर्ने बताए ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कमला ज्ञवालीले संस्कारयुक्त शिक्षाका लागि योग शिक्षाको अभियान चलाउनुपर्ने, एक विद्यालय एक उद्यमशीलताको अभियान चलाउनुपर्ने, विद्यालयमा शुक्रवार पुस्तक निःशुल्क बनाउनुपर्ने, शैक्षिक भ्रमणका कार्यक्रम नगरकोटमा राख्नुपर्ने बताए ।
प्रतिक्रिया