काठमाडौं - गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकामा ९० दिनसम्म चल्ने आधारभूत व्युटिसियन तालिमको शुभारम्भ भएको छ। यस तालिममा नगरपालिकाका २२ जना गृहिणी महिलाहरूको सहभागिता रहेको छ।
तालिम मेलम्ची नगरपालिकाको महिला बालबालिका तथा सामाजिक समावेशीकरण शाखाको समन्वयमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र काभ्रेपलान्चोकको सामाजिक विकास कार्यालयको साझेदारीमा आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले महिलाहरूलाई आत्मनिर्भर बनाउनको लागि यस्ता तालिमको महत्त्वपूर्ण भूमिका रहेको बताइन्। उनले भने, 'गृहिणी महिलाहरूलाई रोजगारसँग जोड्नका लागि यस्ता तालिमहरू आवश्यक छन्, जसले उनीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुर्याउँछन्।'
उपप्रमुख प्रधानले केही दिनअघि मात्रै मौरीपालन तालिम प्रदान गरिएको कुरा उल्लेख गर्दै, आगामी दिनमा पनि महिला सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाए। उनले तालिम प्राप्त महिलाहरूको कार्यान्वयन अवस्थाको पनि निरीक्षण गर्ने बताइन्।
कार्यक्रममा प्रशासकीय अधिकृत झपेन्द्र खरेल र महिला बालबालिका तथा सामाजिक समावेशीकरण शाखा प्रमुख राजेन्द्र दुलाल लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया