काठमाडौं- नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। इकाईले वार्षिक काम कारबाही, सम्पत्ति शुद्धीकरण निवारण प्रणाली, तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी रोकथाम सम्बन्धी विविध विवरणसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनअनुसार, मनी लाउण्डरिङ निवारण ऐन, २०६४ बमोजिम रिपोर्टिङका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानून कार्यान्वयन निकायहरू र नियामक निकायहरूको संख्या १,६३९ पुगेको छ।
प्रतिवेदनमा उल्लिखित विवरणअनुसार सूचक संस्थाहरूले इकाईमा पेस गरेको सीमा कारोबारको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। आर्थिक वर्ष २०७९/८० मा १६,९८,३९८ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा १६,९७,७१२ मात्र रहेको छ।
तर, शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन भने अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले वृद्धि भई ५,९३५ बाट ७,३३८ पुगेको छ। यसअन्तर्गत कर छली, मौद्रिक अपराध, बैंकिङ्ग तथा विदेशी विनिमय सम्बन्धी अनियमितता, ठगी, जुवा तथा सट्टेबाजी लगायतका अपराधसँग सम्बन्धित रहेको उल्लेख छ।
शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये १,६३२ वटा प्रतिवेदनको विश्लेषण गरिएकोमा, ८८९ वटा कानूनी कार्यान्वयन तथा नियामक निकायहरूलाई अनुसन्धानका लागि पठाइएको छ। बाँकी ७४६ वटा प्रतिवेदनलाई भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरिएको छ।
नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन सम्पन्न भई, एक वर्षको अवलोकन अवधिमा नेपालले गरेका सुधारहरू प्रतिवेदनमा समेटिएको छ। हाल नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) ले थप अनुगमनको सूचीमा राखेको छ। नेपालले सो सूचीबाट बाहिरिनका लागि विभिन्न सुधार प्रयास गरिरहेको छ।
नेपालमा वित्तीय अपराधका नयाँ स्वरूपहरू जस्तै हुण्डी, साइबर ठगी, अनलाइन अवैध खेल, अभौतिक सम्पत्ति प्रयोग, कर छली, भ्रष्टाचार, तथा आयात-निर्यात माध्यमबाट हुने सम्पत्ति शुद्धीकरण प्रवृत्तिहरू उल्लेख गरिएको छ।
प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय कार्यहरू, सूचक संस्थाहरूको क्षमता अभिवृद्धि, तथा वित्तीय अपराध नियन्त्रणका लागि गरिएका कदमहरूबारे जानकारी प्रस्तुत गरिएको छ।
प्रतिक्रिया