काठमाडौं– करिब दुई साता अघि टोखाबाट पक्राउ गरिएको २५ करोड रुपैयाँका मालिकको पहिचान भएसँगै सिन्धुपाल्चोक माओवादीभित्र खैलाबैला मच्चिएको छ ।
गत चैत ४ गते केरुङ नाका हुँदै तिब्बततर्फ ट्रकबाट पुर्याउन लागिएको २५ करोड डलर र युरो रकमसहित चालक कुसाङ लामा पक्राउ परेका थिए । उनी पक्राउ लगत्तै सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी सांसद माधव सापकोटाले संसदमा यो विषय उठाएका थिए । उनले यस घटनाको छानबिन गर्न समेत माग गरेका थिए ।
उक्त २५ करोड विदेशी मुद्रासहित चालक लामा पक्राउ परेपछि अधिकांशले उनलाई भरिया मात्रै भएको र असली मालिक पक्राउ गर्न नसकेको बताइएको थियो । अहिले कारोबारका मुख्य नाइकेको नै प्रहरीले पहिचान गरेर खोजी कार्यलाई तीव्रता दिइएको जनाएको छ ।
सिन्धुपाल्चोकका माओवादीका स्थानीय नेता रहेका नारायण पौडेल मुख्य योजनाकार रहेको खुलेको छ । प्रहरीले पक्राउ परेका चालकसँगको सम्पर्कका आधारमा अनुसन्धान गर्दा पौडेल नै मुख्य कारोबारी रहेको पहिल्याई सकेको छ ।
बरामद गरिएको २५ करोड रकमका मुख्य आरोपी पौडेलको सिंगो परिवार नै अवैध कारोबारमा संलग्न रहेको पाइएको छ । यसले सिन्धुपाल्चोकका अन्य माओवादी नेताप्रति पनि शंकाको नजरले हेरिएको विश्वस्त स्रोत बताउँछ ।
चालकलाई उक्त ठूलो रकम सहित पक्राउ पर्दा भरिया मात्रै पक्राउ गरिएको बताइए जसरी अहिले मुख्य मालिकको पहिचान भएपनि यसमा निकै ठूलो राजनीतिक सञ्जाल रहेको हुनसक्ने आशंका गरिएको छ ।
सुरुमा चालक मात्रै पक्राउ पर्दा जोडतोडले अनुसन्धान गर्नुपर्ने माग गरिरहेका माओवादी नेताहरु त्यसको मुख्य मालिक नै पहिल्याएपछि मौन बनेका छन् ।
यसको छानबिनको आवाज उठाउने सांसद सापकोटा पनि मालिकको पहिचान गरी अदालतले पक्राउ पुर्जी जारी गरेर प्रहरीले खोजी कार्य समेत सुरु गरेपछि कुनै प्रतिक्रिया दिएका छैनन् ।
सिन्धुपाल्चोककै माओवादी उपाध्यक्ष अग्नि सापकोटा, संघीय सांसद माधव सापकोटा, पार्टी बागमती प्रदेशका अध्यक्ष एवं प्रदेशसभा सदस्य सरल सहयात्री र अर्का प्रदेशसभा सदस्य युवराज दुलाल लगायतका नेताहरु मौन देखिएका छन् ।
उसोत यस अघि सिन्धुपाल्चकबाटै निर्वाचित कांग्रेस सांसद मोहन बस्नेतले नै त्यहाँका केही माओवादी नेताहरुलाई सुन तस्करी गर्ने गरेको आरोप सार्वजनिक रुपमै लगाएका थिए ।
एमाले सांसद सूर्य थापाले पनि सामाजिक सञ्जालमा २५ करोड युरो र डलर ट्रकमा तस्करी गराउने क्रममा टोखामा पक्रिएको कसको रहेछ? भन्दै प्रश्न गरेका छन् । उनले ‘अनुसन्धानले लहरो तान्दा पहरोमा कता कम्पन उत्पन्न भयो?’भन्दै थप प्रश्न गरेका छन् ।
यस घटनामा सिन्धुपाल्चोकका माओवादी नेता तथा त्यहाँबाट निर्वाचित संघ र प्रदेशका सांसदप्रति थापाले कटाक्ष गरेको सहजै बुझ्न सकिन्छ ।
यस बारेमा सिन्धुपाल्चोकका निर्वाचित माओवादी सांसद माधव सापकोटासँग सम्पर्क गर्दा उनले आफू र आफ्नो पार्टीसँग २५ करोडको मालिक भनिएका पौडेलको कुनै सम्बन्ध र सरोकार नै नभएको बताउँछन् । २५ करोडको मालिक जिल्लाकै भएको खुलेपछि कतिपयले आरोप लगाएको बताउँदै उनले यसको अनुसन्धान गर्न चुनौती दिए ।
उनले भने, ‘२५ करोडको मालिक जिल्लाकै भएकाले कतिपयले त्यसलाई जोडेका होलान् तर सुरुमै उच्चस्तरीय छानबिन समिति गठन गर्नका लागि मैले नै संसदमा माग गरेको हुँ ।’
२५ करोडको मालिक भनिएका नारायण पौडेलका भाइ राजकुमार पहिले आफ्नो पार्टीबाटै निर्वाचित भोटेकोशी गाउँपालिकाका पूर्व अध्यक्ष भएकाले माओवादीसँग जोड्न खोजिएको हुनसक्ने उनको भनाइ छ । तर, त्यसमा माओवादीका नेताको कुनै सरोकार नभएको सांसद सापकोटाको प्रष्टोक्ति छ ।
‘त्यत्रो विदेशी रकमममा अहिले भनिएकाहरुको मात्रै संलग्नता होला जस्तो लाग्दैन ।,’ उनले भने,‘यो मुलुकको अर्थतन्त्रलाई नै चुनौती दिने घटना भएकाले विस्तृत छानबिन नगरेसम्म वास्तविक सञ्जाल पहिल्याउन कठिन छ ।’
प्रतिक्रिया