एशियन लाइफ इन्स्योरेन्सको सत्रौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

शुक्रबार, २२ चैत्र २०८१, १२ : ०३

काठमाडौं - एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सव विविध सामाजिक र संस्थागत गतिविधिहरूसँग भव्य रूपमा सम्पन्न गरेको छ। 

कम्पनीले २०६४ सालको चैत्र २१ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको हो र यस वर्ष अठारौं वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रमहरूको आयोजना गरिएको हो । कम्पनीले वार्षिकोत्सवको उपलक्ष्यमा चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत देशभर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।

यसका माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र बीमाको साथसाथै सामाजिक उत्तरदायित्वको महत्त्वलाई पनि उजागर गर्ने उद्देश्य लिइएको कम्पनीले जनाएको छ। कार्यक्रमहरूको प्रमुख आकर्षणको रूपमा, रक्तदान कार्यक्रम आयोजित गरिएको थियो। कम्पनीले रक्तदानको महत्त्वलाई आत्मसात् गर्दै, ७४ जना रक्तदाता संकलन गरेको थियो। यी रक्तदाता मध्ये कम्पनीका कर्मचारीहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू र स्थानीय समुदायका सदस्यहरूले रक्तदान गरेका थिए।

त्यसैगरी, वार्षिकोत्सवको अवसरमा कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता पनि आयोजना गरिएको थियो। यस प्रतियोगिताले कर्मचारीहरूको सहकार्य र आत्मीयता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीले विश्वास व्यक्त गरेको छ।

कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै, देशभरका ८६ शाखा र उपशाखाहरू मार्फत वृद्धाश्रम, अनाथालय, सामुदायिक विद्यालय र सामाजिक संघ-संस्थाहरूलाई करिब १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री, खाद्यान्न र फर्निचर वितरण गरेको छ। यस कार्यक्रमले संस्थाको सामाजिक प्रतिबद्धता प्रकट गरेको छ।

कम्पनीको प्रमुख कार्यालयमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा, सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठले कम्पनीको १७ वर्षको व्यावसायिक यात्रामा साथ दिने सम्पूर्ण सेयरधनी, बीमित, एजेन्ट, कर्मचारी र शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गरे। उनले कम्पनीको उत्कृष्ट सेवा र उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कम्पनीको वित्तीय प्रगति उल्लेखनीय रहेको छ। चालू आव २०८१\८२ को फागुन मसान्तसम्म कम्पनीको जीवन बीमाकोष ४४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने कूल बीमाशुल्क संकलन ५७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। कम्पनीको कुल लगानी ४९ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०८१\८२ को फागुन मसान्तसम्म कम्पनीले कूल ५ अर्ब ६९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने सक्रिय बीमालेखको संख्या १६ लाख ४२ हजार पुगेको छ। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ रहेको छ।

शुक्रबार, २२ चैत्र २०८१, १२ : ०३

प्रतिक्रिया