अमेरिकाको सबै राज्यहरुमा ट्रम्पविरुद्ध विरोध प्रदर्शन

आइतबार, २४ चैत्र २०८१, ११ : ११

काठमाडौं- अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकी जनताले ट्रम्पको विरोध गरेको यो पहिलो पटक हो ।

अमेरिकाका ५० राज्यमा लगभग १ हजार २०० स्थानमा प्रदर्शनहरु भइरहेको बीबीसीले समाचारमा भनेको छ । विरोध प्रदर्शनहरूलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो । 

प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलाहरू सहित धेरै मुद्दाहरूमा ट्रम्पको एजेन्डाप्रति आक्रोश व्यक्त गरिरहेका छन् । ट्रम्पले विश्वभरका धेरै देशहरूमा कर लगाउने घोषणा गरेपछि अमेरिका बाहिर पनि यस मामिलामा निकै छलफल र चर्चा भए ।

अमेरिकाको बोस्टनमा केही प्रदर्शनकारीहरूले अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूमाथि आप्रवासन सम्बन्धी छापा मारिएको कारणले प्रदर्शन गरिरहेको बताएका थिए । हालै, अमेरिकी विश्वविद्यालयका केही विदेशी विद्यार्थीहरूलाई पक्राउ गरेर देश निकाला गरिएको थियो । 

ट्रम्प विरुद्धका प्रदर्शनमा डेमोक्र्याटिक सांसदहरूको भाषण सुन्न वासिङ्टन डीसीमा हजारौँ प्रदर्शनकारीहरू भेला भएका थिए । यी भाषणहरूमा ट्रम्प प्रशासनका धनी व्यक्तिहरूमाथि धेरै टिप्पणीहरू गरिएका थिए । यी मध्ये प्रमुख नाम खर्बपति व्यापारी तथा ट्रम्प प्रशासनमा सरकारी खर्च र कार्यबल कटौतीको जिम्मा पाएका एलन मस्क थिए । -एजेन्सी

आइतबार, २४ चैत्र २०८१, ११ : ११

प्रतिक्रिया