काठमाडौं - अहिले राजधानी काठमाडौं प्रदुषण र व्यवस्था बिरोधी गतिविधीको कारण निकै गर्माएको छ । त्यसमा देशभरबाट आएका लाखौं शिक्षकहरुको सडक आन्दोलनले वातावरणलाई झनै तनावपूर्ण बनाएको छ । विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ।अनिश्चितकालीन शैक्षिक हड्तालका कारण एसइइको नतिजा समेत
प्रभावित हुने भएको छ । शिक्षक महासँघले विज्ञप्ति नै जारी गरेर उत्तरपुसस्तिका परिक्षण,नतिजा प्रकाशन, तालिम, गोष्ठि, सेमिनार, शैक्षिक भ्रमण लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरेको छ । सरकारसँग विभिन्न मागहरु गर्दै गएको माघ २० गतेबाट आन्दोलनमा रहेको महासंघ यही चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा छ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षकरकर्मचारी मैत्री विद्यालय शिक्षा ऐन गारी गराउन सरकारलाई दबाब दिने उद्देश्यले शैक्षिक हड्ताल घोषणा गरिएको महासंघले जनाएको छ।
सडक आन्दोलन गरिरहेका शिक्षकलाई सरकारले दुईपटक वार्ताको लागि बोलाए पनि नेपाल शिक्षक महासंघले बेवास्ता गर्दै आएको छ।
२०८० असोजमा पनि राजधानीकेन्द्रित आन्दोलन गरेका शिक्षकले सरकारसँग सहमति गरेर आन्दोलन रोकेका थिए।
तर, सहमति अनुसार शिक्षा ऐन नल्याएको भन्दै महासंघको नेतृत्वमा यसपटक पनि मुलुकभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी चैत २० गतेदेखि बानेश्वर–माइतीघर क्षेत्रमा जम्मा भएर आन्दोलन गरिरहेका छन् ।
सरकारले विगतमा आफै गरेका सहमतिहरु कार्यान्वयन गर्नुको साटो शिक्षकहरुलाई फेरि पनि वार्ताको आह्वान गर्नु निरर्थक छ । आन्दोलन बिना केही पनि नहुने नजिर सरकारले नै बसाल्दै आएको छ । शिक्षकहरुले धेरै थोक मागेका छैनन् । उनीहरु केवल विद्यालय शिक्षा ऐन जारी भएको देख्न चाहन्छन् । सरकारले सहमति पनि गर्ने तर त्यसको पालना नगर्ने प्रवृ्िरत्त खतरनाक छ । जिम्मेवार सरकारले शिक्षकको आवाज सुन्नै पर्दछ । नयाँ शैक्षिक सत्रको सुरुवातमा शिक्षकहरुलाई विद्यालय नै बन्द गरेर सडकमा आउन सरकारले बाध्य पारेको छ । शिक्षकहरु ज्ञान र चेतनाका संवाहक हुन । उनीहरुको समस्या राज्यले समयमै महशुस गर्नु वुद्धिमानी हुनेछ ।
प्रतिक्रिया