शिक्षक आन्दोलनले एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने

आइतबार, २४ चैत्र २०८१, १५ : ५३

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ। शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशनमा ढिलाइ हुने भएको हो।

शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउन शिक्षकहरूलाई आगामी दिनहरूमा गोष्ठी, तालिम र सेमिनारमा सहभागी नहुनका लागि निर्देशन दिएको छ। महासंघले २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरेको छ, जसका कारण देशभरका सबै विद्यालय बन्द गरी काठमाडौँमा शैक्षिक सडक आन्दोलनमा सहभागिता जनाउन शिक्षकहरूलाई आग्रह गरिएको छ।

शिक्षक महासंघले भनेका छन् कि, यो अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार र शैक्षिक भ्रमणजस्ता कुनै पनि शैक्षिक कार्यमा संलग्न नहुन भनिएको छ।

माध्यमिक शिक्षा परीक्षा २०८१ सालको चैत्र ०७ गतेदेखि सञ्चालन गरिएको थियो। यस वर्षको परीक्षामा देशभरबाट ४ लाख ३१ हजार ४ सय ६६ जना नियमित विद्यार्थी र ६७ हजार ७ सय १५ जना ग्रेड वृद्धितर्फका विद्यार्थीहरू समावेश भएका छन्, जसको कुल संख्या ४ लाख ९९ हजार १ सय ८३ पुगेको छ।

आइतबार, २४ चैत्र २०८१, १५ : ५३

प्रतिक्रिया