प्रदूषणबाट बचाउन के छ सरकारको योजना ?

मंगलबार, २६ चैत्र २०८१, १० : ५१

काठमाडौं - राजधानी काठमाडौ उपत्यका केही दिनयता विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ । प्रदुषणको कारण जनजीवन निकै सकसपूर्ण बनेको छ । यसको कारण वातावरणीय तत्वहरुमा आएको परिवर्तनलाई मान्न सकिन्छ । सुख्खा मौसममा हुने आगलागी र लामो समयदेखि पानी नपर्नु अर्को कारण बनेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्क हेर्दा ३ अप्रिल बिहानसम्म पनि काठमाडौं विश्वकै प्रदूषित सहरको रुपमा अगाडि थियो । काठमाडौंको वायु प्रदूषण २२२ एक्युआई छ । केही दिन अगाडि वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा वायु प्रदूषण डरलाग्दो तहमा पुगेकाले सावधानी अपनाउन सरकारले पनि सर्वसाधारणलाई आग्रह गरेको छ । 

प्रदुषणले वृद्धवृद्धा, गर्भवती महिला र श्वासप्रश्वाससम्बन्धी रोग लागेका व्यक्तिलाई उच्च जोखिम हुने भएकोले थप सावधानी अपनाउन पनि जरुरी छ । यतिबेला अत्यावश्यकबाहेक बाहिर नजाने यात्रा गर्दा मास्क लगाउने, अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहनु उपयुक्त हुन्छ । यसैबीच, राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदूषण नियन्त्रण गर्न र स्वास्थ्य जोखिमहरूप्रति सतर्क रहन सामूहिक प्रयास गर्न आह्वान गरेको छ । प्राधिकरणले वनमा लागेको आगलागी, सडक निर्माण र औद्योगिक गतिविधिका कारण हावाको गुणस्तर खराब भएको बताएको छ ।

प्रदुषण कम गर्न सरकारले विशेष कदम चाल्न जरुरी छ । उद्योग, कलकारखाना, निर्माण व्यवसायीलाई प्रदूषण न्यूनीकरणका लागि आवश्यक कदम चाल्न सरकारले निर्देशन दिनुपर्दछ । काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६ ले तीन सयभन्दा बढीको एयर क्वालिटी इन्डेक्सलाई प्रकोप मानेको छ । त्यस्ता विपद् हुन नदिन फोहोर नजाने, सडक सफा गर्न झाडु र भ्याकुमको प्रयोग बढाउने साथै बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सर्वसाधारणलाई सचेत गराउन सरोकारवालाहरुले अग्रसरता लिनुपर्दछ । राष्ट्रिय वातावरण नीति, २०७६ मा प्रदूषण न्यूनीकरण गर्न पानी, हावा, माटो, ध्वनि, विद्युत्, चुम्बकीय तरंग, रेडियोधर्मी विकिरण र खतरनाक रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने समेत उल्लेख छ । रणनीतिअनुसार प्रमुख सहर र औद्योगिक क्षेत्रलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालन गरी हावा, पानी र ध्वनिको गुणस्तर मापन गरिने कुरा उल्लेख गरिएको छ  । ऐन नियममा भएको यो व्यवस्थालाई सक्रिय रुपमा कार्यान्वयन गर्ने गराउने काममा सरकारी निकायहरुले तदारुकता देखाउन ढिलाइ गर्नु हुँदैन । 

हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिनसक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सबै सजग हुनुपर्नेछ । नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको देखिन्छ । वातावरण विभागका अनुसार काठमाडौंसहित विभिन्न सहरको हावामा जंगलमा आगलागीको प्रभाव रहेको बताएका छन् । काठमाडौंको वायु प्रदूषण केही साताअघि पनि बढेको थियो, यो झनै प्रदूषित भएको छ ।

काठमाडौं उपत्यकामा छ महिनाभन्दा बढी समयदेखि पर्याप्त पानी परेको छैन ।जसले गर्दा  हावा सुख्खा भएको छ र प्रदूषकले हावा सजिलै छोप्न सक्छ । उपत्यकाका सवारीसाधन, कलकारखाना, इँटा भट्टाबाट निस्कने हानिकारक ग्यासजस्ता स्थानीय प्रदूषकले वायु प्रदूषणको प्रमुख कारक रहेको बताइन्छ । त्यसैगरी, फोहोर पदार्थ र कृषि घाँस जलाउने, जङ्गलमा लागेको आगोलगायतका कारण वायु प्रदूषण हुने गरेको छ ।

नेपालको सन्दर्भमा गर्मी बढेसँगै जताततै डढेलोको संख्यामा वृद्धि भएसँगै वायु प्रदूषण बढेको छ । डढेलो र प्रदूषणका कारण काठमाडौं उपत्यका र मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर बढी भएको पाइन्छ । एक अध्ययनका अनुसार नेपालमा वायु प्रदूषणले निम्त्याउने रोगका कारण वर्षेनि ४२ हजार एक सय जनाको मृत्यु हुने गरेको उल्लेख छ । यसको रोकथामका लागि वायु प्रदूषण हुन नदिने, सम्भव भएसम्म घरमै बस्ने, श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या, आँखा पोल्नेलगायतका समस्या भए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रशस्त पानी पिउने, बोटबिरुवा लगाई हावालाई सफा गर्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने, बढी भिडभाड भएको ठाउँमा नजाने, कम प्रदूषित क्षेत्रमा व्यायाम गर्ने, उचित किसिमले फोहोर व्यवस्थापन गर्ने गर्नुपर्दछ । 

हामी सबैले आफ्नो वरपरको वातावरणको सुधार गरी जल, हावा, जमिन र वनस्पति, जीवजन्तु र मानवको अन्तरसम्बन्धलाई जीवन्त बनाउँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक प्रत्याभूतिलाई सार्थक बनाउने बाचा गर्नुपर्नेछ । विश्व वातावरण प्रदूषणमा नेपालीको भूमिका नगण्य भए पनि वायु, जल तथा जमिन प्रदूषणबाट पर्न सक्ने असर न्यूनीकरणका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा भएका नेपालका प्रतिबद्धताहरू कार्यान्वयन गर्न थप प्रेरणा दिनुपर्छ । साथै सरकारले प्रदुषण नियन्त्रण गर्ने नाममा लिने गरेको २५ अर्ब रकम कहाँ कसरी खर्च भैरहेको छ भन्ने बारेमा पनि सम्बन्धित पक्षहरुले चासो राख्न आवश्यक छ । नागरिकको स्वास्थ्यको रक्षा गर्ने दायित्वप्रति राज्यलाई गम्भीर बनाउन सबैको ध्यान जाओस् ।  

मंगलबार, २६ चैत्र २०८१, १० : ५१

प्रतिक्रिया