काठमाडौं- नेपाल आयल निगमको रिक्त विज्ञ सञ्चालक सदस्यका लागि आवेदन माग गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै नियुक्तिका लागि आवेदन खुला गरेको हो ।
रिक्त विज्ञ सञ्चालक सदस्य पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
दरखास्त दिनका लागि नेपालको नागरिक हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक निकायको कामको प्रकृतिसँग सम्बन्धित विषयमा कम्तीमा १० वर्षको विज्ञता हासिल गरेको हुनुपर्नेछ ।
यस अतिरिक्त उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको, दरखास्त दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने प्रावधान छ ।
इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबारमा आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया