हिजो राजा बिग्रिए, आज दलका नेताहरु

विहीबार, २८ चैत्र २०८१, १४ : ३२

जनताको संघर्षबाट आएको लोकतन्त्रलाई राजनीतिज्ञहरूले आफ्नो स्वार्थ र हितमा प्रयोग गर्दा समाजमा उकुसमुकुस बढेको र त्यो कुनै पनि बेला विस्फोट हुने अवस्थामा पुगेको छ । लोकतन्त्रको संघर्ष र त्यसको उपलब्धि, राजनीतिक संस्कार र पछिल्लो समय नेपाली समाजमा देखिएको असन्तुष्टि हटेको छैन । 

अपरिपक्क राजनीति चलिरहँदा यस्ता घटना हुँदा रहेछन् । नयाँ संविधान जारी भएको पनि करिब १० वर्ष हुन थाल्यो । नेताहरू लोकतन्त्र, लोकतन्त्र भनेर फलाक्छन् । तर, चिन्तन, व्यवहार र आचरण लोकतन्त्रको मूल्य, मान्यता भन्दा विल्कुल अलग भइसकेको छ । चिन्तन, आचरण र व्यवहार एकसाथ सँगसँगै हिँडाएको भए सही ठाउँमा पुगिन्थ्यो । त्यसमा एउटा मात्रै पक्षको अभाव भयो भने  गन्तव्यमा पुग्न सकिदैन । आचरण ठिक छैन भने जस्तोसुकै लोकतन्त्रको दुहाई दिएपनि कुनै अर्थ हुँदैन । 

राजनीतिज्ञको आचरण ठिक नभए नागरिकले विश्वास गर्न सक्दैनन् । अहिले नेताहरू त्यो आचरणमा नभएका कारण कतिपयले तीन प्रमुख नेताहरूलाई श्री ३ भनेर व्यंग्य गर्न थालेका छन् । यस्तो हुनु देश र जनताको लागि दुर्भाग्य हो ।

सार्वजनिक वृत्तबाट यसरी खरो आलोचना भएपछि नेताहरुलाई लाज लाग्नुपर्ने हो । उनीहरुले हिजो लोकतन्त्रका लागि संघर्ष गर्नुभएकै हो, लडेकै हो । आन्दोलन गर्नु, सफल हुनु एउटा कुरा हो । त्यसलाई व्यवस्थित ढंगलबाट अघि बढाउनु अर्को कुरा हो । आन्दोलनको सफलतापछि प्रजातन्त्रमा असल आचरणसहित काम गर्न गाह्रो हुन्छ ।

लोकतन्त्रमा जनताको मन र विश्वास जित्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो । तर, यहाँ मन जित्ने आचरण र चिन्तन नै हुन सकेन । राजाको पालामा जुन संस्कार र चिन्तन थियो, त्यो निरन्तर रह्यो । उनीहरूले आफूलाई लोकतान्त्रिक मूल्य मान्यता अनुकुल रुपान्तरण गर्नै सकेनन् ।

शेरबहादुर देउवा र केपी ओली त हिजोको राजनीतिमा पनि थिए । प्रचण्ड शान्ति प्रक्रियाबाट आएका हुन् तर काम गर्दागर्दै यही विकृतिमा मिसिए । लोकतन्त्र के हो ? यसमा हामी कसरी हिँड्नुपर्छ भनेर यिनीहरूले छुट्याउनै सकेनन् । उनीहरूको स्वार्थभन्दा जनता र देशको हित ठूलो हो । जनताको मन जित्न हामीले के–के सुधार गर्नुपर्छ भन्ने हेक्का नै राखेनन् । त्यसले गर्दा उदाहरणीय नेता बन्ने सम्भावना यिनीहरूले गुमाए । त्यसले समाजमा राम्रो प्रभाव पारेको छ । गरिब र निमुखाहरूलाई यसबाट लाभ भएको छ । देउवा र ओलीले यस्तै अरु राम्रा काम गर्नुपर्ने थियो । प्रचण्डले त झन राम्रा काम गर्नुपर्ने थियो । उनी त रातारात कायापलट गर्छु भनेर आएका थिए । उनी पनि यसैमा अल्मलिए, यसैमा रमाए ।

मनमोहन अधिकारीले प्रधानमन्त्री हुँदा वृद्धभत्ताको सुरुवात गरे । अहिलेसम्म त्यसले समाजमा राम्रो प्रभाव पारेको छ । गरिब र निमुखाहरूलाई यसबाट लाभ भएको छ । देउवा र ओलीले यस्तै अरु राम्रा काम गर्नुपर्ने थियो । प्रचण्डले त झन राम्रा काम गर्नुपर्ने थियो । उनी त रातारात कायापलट गर्छु भनेर आएका थिए । उनी पनि यसैमा अल्मलिए, यसैमा रमाए ।

त्यत्रो संघर्ष गरेर आएका नेताहरू किन चुकेका होलान् त ? स्पष्ट दृष्टिकोणको अभाव नै मुख्य कारण हो । चिन्तनमा परिपक्वता देखिएन । यसै गरेर हिँड्ने र अल्मलिने बानी भयो । देउवा त त्यत्रो समय प्रजातन्त्रका लागि लडेका थिए । विद्यार्थीकालदेखि नै लडेका व्यक्तिमा स्पष्ट दृष्टिकोण हुनुपर्दैन ? उनले यथार्थमा केही पनि दिन सकेनन् । नेताहरू त जनताको अगाडि उदाहरण बन्नुपर्ने थियो । उदाहरण बन्नेतिर कोही पनि लागेनन् । खाली आफू, पैसा र आफ्ना मान्छेमा मात्रै ध्यान गयो । अहिले त यिनीहरू जनतादेखि टाढा हुँदै गए । नयाँहरूलाई पनि यिनीहरूले पुरानै विकृतीतिर मोडिदिए ।

युवाहरू नै मुलुकमा किन बस्ने भन्ने अवस्थामा पुगे । यही मुलुकमा बस भनेर सहमत गराउने ठाँउ पनि नेताहरूले बनाइदिएनन् । यिनीहरू अप्रत्यक्ष रुपमा देशका युवा र जवानहरू विदेश गए हुन्छ भनिरहेका छन् । तिमीहरू बाहिर जाओ, हामी बसेर खान्छम् भन्ने व्यवहार उनीहरूको छ । यही गतिहीनताले दैनिक हजारौं मानिस देश छाडेर बाहिर गएका छन् । १२ पास गरेकाहरू कोही पनि नेपालमा बस्न चाहँदैनन् । यो अवस्था कसरी सिर्जना भयो ? आम नागरिकको हकहित र सुविधालाई यिनीहरूले कत्ति पनि ध्यान दिएनन् ।

मानिसलाई कसरी बाँच्ने भन्ने चिन्ता छ । युवाहरू नै मुलुकमा यत्रो समय काम गरेर के पाइयो र भन्ने अवस्थामा पुगे । ‘यही मुलुकमा बस’ भनेर सहमत गराउने ठाँउ नेताहरूले बनाइदिएनन् । बनाउनुपर्ने दायित्व यिनीहरूको होइन र ? यिनीहरूले अप्रत्यक्ष रुपमा देशका युवा र जवानहरू विदेश गए हुन्छ भनिरहेका छन् । तिमीहरू बाहिर जाओ, हामी बसेर खान्छम् भन्ने व्यवहार गरिरहेका छन् ।

एयरपोर्टतिरको भीड हर्‍यो भने दिक्क लाग्दो । सारा लस्कर विदेशतिर लागेको छ । नेताहरूले आफूलाई बिर्सिदिएर देश र जनतामा समर्पित हुनुपर्छ । जबसम्म उनीहरू लोकतन्त्र र जनताप्रति समर्पित हुँदैनन्, तबसम्म केही सुधार हुँदैन । यिनीहरूको बुद्धि आओस भनेर कामना धेरै गरिए पनि लक्षण छैन ।

नेपाली समाज र परिवारमा पनि पैसामुखी सोच हाबी भयो । जताबाट भएपनि पैसा आए भैहाल्यो भन्ने सोच हाबी हुँदै गएको छ । परिवारकै सदस्यहरूले जसरी हुन्छ, कमाउनुपर्छ भनेर दबाब दिन थालेको देखिन्छ । यसका लागि हामी सबै जिम्मेवार छौं । कसै न कसैले काम गरेको भए मुलुक यस्तो हुँदैनथ्यो ।

हरेक देशले एउटा भिजन भएको नेता चाहेको हुन्छ भनिन्छ । स्पष्ट दृष्टिकोण भएको नेताले मात्रै मुलुकलाई एउटा दिशामा लैजानसक्छ । विश्वको इतिहास हेर्ने हो भने दुरदर्शी र स्पष्ट दृष्टिकोण भएका नेताहरूले मात्रै मुलुक बनाएको उदाहरण भेटिन्छ ।

यस पंक्तिकारले धेरै पटक यो कुरा उठाउँदै आएको छ । संवैधानिक निकायलाई आफ्नो ढंगले काम गर्न दिनुपर्ने थियो तर त्यसो भईरहेको छैन । न्यायक्षेत्रदेखि अख्तियार अनि मानव अधिकार आयोगमा पनि आफ्नै मान्छे भर्ने काम भएको छ  । कुनै बेला अख्तियारले राम्रै काम गरेको थियो । न्यायपालिका नै स्वतन्त्र र निर्भिक थियो । तर अहिले आजीवन कसैको पक्षमा जिन्दावाद र मुर्दावादको नारा मात्र लाग्ने गरेको छ ।  

नेताहरूको संस्कार मात्रै होइन, उनीहरूले प्रयोग गर्ने भाषा पनि लोकतान्त्रिक आचरण सुहाउँदो भएन । ओलीले प्रचण्डलाई त्यस्तै भाषा प्रयोग गर्छन् । प्रचण्डले पनि ओलीलाई त्यस्तै भाषा प्रयोग गरेका हुन्छन् । त्यो स्तरको नेताले त्यस्तो भाषा प्रयोग गर्न सुहाउँदैन । लोकतन्त्रमा विरोध हुनु स्वाभाविकै हो, सबैको विचार मिल्नुपर्छ भन्ने छैन । तर भाषा प्रयोग गर्ने तरिका ख्याल गर्नुपर्छ । विचार पो मिलेन, व्यक्तिगत दुष्मनी हो र त्यो खालको भाषा प्रयोग गर्न ? हामी कुन दायरामा बस्नुपर्छ भन्ने हेक्का समेत भएन ।

यो १८ वर्षको अवधिमा नेताहरूले स्पेस छाडिदिएर नै हिजो संकुचित भएका राजावादीहरू फैलिन खोजेको देखिन्छ । त्यो लगायत अरु कैयौं कारण पनि छन् । भ्रष्टाचार जहिले पनि माथिल्लो तहबाट तल्लो तहमा बग्छ । यिनीहरूले माथिल्लो तहमा जति भ्रष्टाचार सिके, त्यो गाँउ तहसम्म पुगेको छ । यिनीहरूले आफ्नो कमजोरी देख्नै खोजेका छैनन ।

यिनीहरूले आफूले आफैंलाई राम्रो भनिरहेका छन् । समाजले पो यो राम्रो भनिदिनुपर्ने होइन र ? समाजले तपाईंको कामको, विचारको र प्रस्तुतिको तारिफ गर्नुपर्ने होइन ? आफ्नो कामको आफैंले तारिफ गरेर गजब भयो भन्न त जसले पनि सकिहाल्छ नी । वैज्ञानिक न्युटनको गतिसम्बन्धी सिद्धान्त सामाजिक क्षेत्रमा पनि लागू हुन्छ । हरेक क्रियाको प्रतिक्रिया हुन्छ भनेझैं मान्छेले गाली गरिसकेपछि उसले प्रतिफलमा पाउने गाली नै हो । तपाईंले गर्ने दुष्कर्मको प्रतिक्रिया त्यस्तै दुष्कर्मयुक्त नै प्राप्त हुने होइन र ? केही नपाएर आकुलव्याकुल भएको जनताले जे पाँउँछ, त्यही गर्छ ।

त्यही भएर त जनतामा पनि कमीकमजोरी छ भनेको । यी कुरा सर्वसाधारणले पनि बुझ्नुपर्ने हो । नेताहरूको हातमा हतियार र शक्ति भएकाले हामी पनि भ्रष्टहरूकै पछाडि गएर जी हजुरी गरिरहेका हुन्छौं । कसैलाई के बनाइदेला भन्ने आशा हुन्छ, कसैलाई जागिरको लोभ । पढेलेखेका मानिसहरू पनि त्यस्तैका पछाडि दौडिरहेका देखिन्छन् । अनि नेताहरूले पनि पढेलेखेकालाई हेपेका छन् । यिनीहरूले देशको भलो चाहेका छन् भन्ने कुरा मानिसले विश्वास नै गर्दैनन् । यसले देशका लागि केही गर्ला भन्ने आशा त जगाइदिनुपर्छ नि !

समकालीन नेताहरु ओली, देउवा र प्रचण्डले जहिले पनि मै ठिक भनेर हुँदैन ? आम मानिसहरूले आफ्ना बारेमा दिएको प्रतिक्रिया र धारणाबारे विचार गर्नुपर्नेहुन्छ ? यिनीहरूले अब पनि बानी नसुधार्ने हो भने गुम्सिएको समाज एकदिन विस्फोट हुने निश्चित छ ।

विहीबार, २८ चैत्र २०८१, १४ : ३२

प्रतिक्रिया