सरकारले धमाधम पूर्वविशिष्टहरुको अवैध सम्पत्ति जफत गर्दै

विहीबार, २८ चैत्र २०८१, १६ : १३

काठमाडौं– सरकारले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वविशिष्टहरुको सम्पत्ति धमाधम जफत गर्न थालेको छ । दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काको सम्पत्ति जफत गरेको सरकारले फेरि अर्का सडक विभागका पूर्वमहानिर्देशक आनन्द प्रसाद खनालको अवैध जग्गा पनि जफत गरेको हो । 

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले २०६९ साउन ३० गते पूर्वमन्त्री खड्कालाई भ्रष्टाचारी ठहर गर्दै ललितपुरमा रहेको खड्काको घर बनेको जग्गा जफत गर्ने फैसला गरेको थियो । 

साविकको ललितपुर नगरपालिका वडा नम्बर–२ मा खड्काकी श्रीमती शीला शर्मा खड्काको नाममा रहेको कित्ता नम्बर १०७ को एक रोपनी ६ आना र कित्ता नम्बर १८३ को एक आना एक पैसा जग्गाबाट २० लाख ५६ हजार ९८७ रुपैयाँ २ पैसा बराबरको जफत गर्ने फैसला गरेको थियो । सोही जग्गाको मूल्य बराबरको रकम खड्काको परिवारले गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा दाखिला गरेका थिए ।

यस्तै, सडक विभागका पूर्वमहानिर्देशक आनन्द प्रसाद खनालको अवैध सम्पत्ति पनि सरकारको मातहतमा ल्याइएको छ। सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ भदौ १२ गते दोषी ठहर गरेको थियो । 

सर्वोच्चले पूर्वमहानिर्देशक खनाललाई एक वर्ष तीन महिना कैद, एक करोड २१ लाख ५२ हजार ४४ रुपैयाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । 
सोही अन्तर्गत भक्तपुर कटुञ्जेमा विभिन्न १७ कित्तामा रहेको जग्गा गृह मन्त्रालय मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको नाममा ल्याइएको हो ।


 

विहीबार, २८ चैत्र २०८१, १६ : १३

प्रतिक्रिया