नयाँ वर्षले सबैमा खुशी छाओस्

आइतबार, ३१ चैत्र २०८१, १४ : ५८

काठमाडौं - नयाँ वर्षले सबैमा खुशी छाओस्  - वर्ष २०८१ नेपालका लागि निकै उतारचढाव र उल्लेखनीय रह्यो । विशेष गरी राजनीतिक क्षेत्र उथलपुथलपूर्ण बन्यो । गत वर्ष पनि मानिसहरुले नयाँ वर्षप्रति आशापूर्ण अभिव्यक्ति दिएका थिए । आपसमा शुभकामना आदान प्रदान त स्वभाविक नै भयो । तर पनि आम मान्छेको जीवनमा खासै नयाँपन आएको देखिएन । 

वर्ष २०८१ मा प्रचण्ड सरकारले भ्रष्टाचार र अनियमितताका विभिन्न फाइल खोलेर कारबाहीको प्रक्रिया थालनी गर्यो । राष्ट्रको जीवनमा प्रभाव पार्ने ठूला ठूला काण्डहरुमा सरकारले कारबाही सुरुवात गरेको थियो । जसको कारणले सरकार ढल्यो र नयाँ गठबन्धन बन्यो । नयाँ सरकार बनेकोप्रति जनताको खासै उत्साह देखिएन । बरु सुशासनको यात्रा थालेको सरकारलाई विस्थापन गरेर बनेको सरकारप्रति नै विभिन्न आशंका र आरोपहरु लागे । 

वर्ष २०८१ मा सबैभन्दा चर्चित घटना राजावादीहरुको सक्रियता बन्न गयो । फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्कने क्रममा काठमाडौंमा भएको स्वागतले राजनीतिक वातावरणलाई एकाएक तताएको थियो । यसै घटनाबाट राजावादीहरु उत्साहित भएर मुलुकमा राजसंस्था पुनस्थापनाको लागि भनेर संगठित अभियान नै सुरु गरे । जसको उत्कर्श तीनकुने घटना बन्न पुग्यो । दुई जनाको ज्यान गएको सो घटनाको बारेमा राजावादी र सरकारका फरक खालका भनाइहरु आइरहेका छन् । 

एकातिर राजावादीहरुको गतिबिधी आक्रमक भयो भने अर्कोतिर गणतन्त्रवादीहरुप्रति असन्तुष्टिको पहाड चुलियो । सर्वसाधारण व्यवस्थाप्रति नै वितृष्णा बढ्न थाल्यो । प्रमुख दलहरु र सरकारका क्रियाकलापहरुप्रति नागरिकहरुले खुलेयाम बिरोध प्रकट गर्ने अवस्था बन्यो । 
आशा गरौं नयाँ वर्ष २०८२ ले राज्य सञ्चालकहरुको घैंटोमा घाम लागोस् र आम नेपाली नागरिकको जीवनमा खुशी तथा सन्तुष्टिको कान्ति छाओस् । नयाँ वर्षको हार्दिक शुभकामना । 
 

आइतबार, ३१ चैत्र २०८१, १४ : ५८

प्रतिक्रिया