काठमाडौं- त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लिनका लागि अनलाइनबाटै आवेदन दिन पाउने भएका छन् । विश्वविद्यालयले मंगलबारदेखि विद्यार्थीहरूको लागि ट्रान्सक्रिप्टको अनलाइन फाराम खुलाएको हो ।
फारम भर्नका लागि विद्यार्थीले student.tuexam.edu.np मा आफ्नो रजिस्ट्रेसन नम्बर र जन्म मिति राखेर साइन अप गर्नुपर्नेछ । त्यसपछि विद्यार्थीहरूले युजर आईडी र पासवर्ड राखेर लगइन गर्न सक्नेछन् ।
त्यस्तै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट निकाल्नका लागि फाराम भरेरपछि तोकिएको शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ । विश्वविद्यालयले गत वर्षदेखि नै अनलाइन सेवा सुरु गरेपनि प्राविधिक समस्या आएपछि बन्द गरिएको थियो ।
अन्य सर्भरबाट अनलाइन प्रणाली सञ्चालन गर्दा समस्या आएपछि विश्वविद्यालयकै सिस्टमबाट अनलाइन फाराम भर्ने काम सुरु गरिएको विश्वविद्यालयले जानकारी दिएको छ । यस्तै १५ जेठदेखि विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका सबै काम अनलाइनबाट नै सुरु हुने बताइएको छ ।
प्रतिक्रिया