काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले हावाहुरी तथा प्रतिकुल मौसमी कारणले केही स्थानहरूमा विद्युत् अवरुद्ध भएको जनाएको छ ।
प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र भ्रामक प्रचार गरिएको दाबी गरेको हो ।
‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मनसुनका कारण सिर्जना भएकी प्रतिकूल मौसमले छोटो समय विद्युत् सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिकुल मौसमको कारण छोटो समयका लागि विद्युत् अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने प्राधिकरणले बताउँदै प्राधिकरणले विद्युत् अवरुद्ध भएका ठाउँमा देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको जनाएको छ ।
प्राधिकरणले विद्युत् अवरुद्ध भएका अधिकांश स्थानहरूमा विद्युत् आपूर्ति भइसकेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रतिक्रिया